काठमाडौं । नेपाल राष्ट्र बैंक ले विक्रम संवत् २०८३ सालका लागि बैंक बिदा तथा कार्यालय समयसम्बन्धी विस्तृत सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागद्वारा जारी सूचनामा वर्षभरि पर्ने सार्वजनिक, धार्मिक तथा विभिन्न समुदायका पर्व बिदा र बैंकिङ कारोबार समयबारे जानकारी दिइएको हो ।
सूचीअनुसार २०८३ सालको बडा दशैंको बिदा असोज ३१ गते (फूलपाती) देखि सुरु भई कात्तिक ६ गते (द्वादशी) सम्म कूल ७ दिन रहनेछ । यस्तै, तिहार बिदा कात्तिक २२ गते (लक्ष्मीपूजा) देखि कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट) सम्म कूल ५ दिन कायम गरिएको छ ।
त्यसैगरी, अन्य प्रमुख बिदाहरूमा नयाँ वर्ष वैशाख १ गते, विश्व मजदुर दिवस तथा बुद्ध जयन्ती/उभौली पर्व वैशाख १८ गते, गणतन्त्र दिवस जेठ १५ गते, रक्षाबन्धन भदौ १२ गते, गाईजात्रा भदौ १३ गते, श्रीकृष्ण जन्माष्टमी/गौरा पर्व भदौ १९ गते, हरितालिका तीज भदौ २९ गते (महिला कर्मचारीका लागि मात्र), संविधान दिवस असोज ३ गते, इन्द्रजात्रा असोज ९ गते (काठमाडौं उपत्यका मात्र), घटस्थापना असोज २५ गते, छठ पर्व कात्तिक २९ गते, महाशिवरात्रि फागुन २२ गते तथा फागु पूर्णिमा (होली) चैत ७ गते (पहाडी जिल्ला) र चैत ८ गते (तराई जिल्ला) तोकिएको छ ।
राष्ट्र बैंकले मौसमअनुसार कार्यालय समयलाई दुई भागमा विभाजन गरेको छ । नियमित समय (वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १६ देखि चैत मसान्तसम्म) बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय खुला रहनेछ भने बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।
हिउँदको समय (कात्तिक १६ देखि माघ १५ सम्म) मा भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कायम गरिएको छ ।
प्रत्येक शनिबार बैंक पूर्ण रूपमा बन्द रहनेछ । साथै, सरकारले आकस्मिक रूपमा सार्वजनिक बिदा घोषणा गरेको अवस्थामा पनि नगद भुक्तानी, ईसीसी, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा भने सञ्चालनमा रहनेछन् । यस्तो अवस्थामा न्यून कर्मचारीको उपस्थितिमा बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म काउन्टर सेवा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।


Comment