काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (शनिबार) पनि मौसम बदलीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार दिनभर मौसम आंशिकदेखि सामान्य बदली रहने र समय–समयमा पानी पर्ने अनुमान गरिएको हो।
हिजो साँझ उपत्यकामा गड्याङगुडुङसहित वर्षा भएको थियो भने अहिले भने पानी रोकिएको अवस्था रहेको छ। यद्यपि, मौसम पुनः बदली भई वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
देशभरको मौसम अवस्थाबारे विस्तृत प्रक्षेपण भने आज बिहान ८ बजेपछि सार्वजनिक गरिनेछ। हिजो उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको र केही ठाउँमा अझै पनि वर्षा भइरहेको जानकारी दिइएको छ।
यसैबीच, आज बिहान ५:४५ बजेको प्रारम्भिक मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.३ डिग्री सेल्सियस रहेको छ। वास्तविक न्यूनतम तापक्रम भने बिहान ८:४५ बजे मापन गरिनेछ, जसमा केही गिरावट आउन सक्ने सम्भावना रहने बताइएको छ।
उल्लेखनीय छ, हिजो शुक्रबार प्रारम्भिक मापनमा ११.५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम अन्तिम मापनमा पनि सोही स्तरमा कायम रहेको थियो।

Comment