पार्टी र देश बदल्ने क्याप्टेनले बीचमै मैदान छोड्न मिल्दैन: अर्जुननरसिंह केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्रै नेतृत्वको परीक्षण गर्नु उपयुक्त नहुने बताएका छन्। उनले पार्टी सभापति गगन थापाको राजीनामालाई बेठिक ठहर गर्दै नेतृत्वले कठिन समयमा अझ जिम्मेवार बन्नुपर्ने धारणा राखेका छन्।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले पार्टी र देश परिवर्तन गर्ने उद्घोषसहित अघि बढेको नेतृत्व बीचमै पछि हट्न नहुने बताए। उनले क्याप्टेनको भूमिकामा आएको व्यक्तिले चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी त्याग्न नमिल्ने उल्लेख गरे।

केसीले एक चुनावको परिणामलाई लिएर पार्टीभित्र अत्यधिक निराशा फैलाउन नहुने पनि बताए। उनले विगतका कमजोरी, विकृति र विसंगतिहरू रातारात समाधान नहुने भन्दै छोटो अवधिमै चमत्कारिक परिवर्तन खोज्नु व्यवहारिक नहुने जिकिर गरे। उनका अनुसार वर्षौँदेखि थुप्रिएका असन्तुष्टि र समस्यालाई ५० दिनको छोटो अवधिमा मात्रै समाधान गर्न सकिन्छ भन्ने अपेक्षा यथार्थपरक होइन।

उनले पार्टीका कार्यकर्तालाई हारबाट विचलित नहुन आग्रह गर्दै कांग्रेस अझै पनि ठूलो जनमतसहितको शक्ति रहेको बताए। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थिरता, समृद्धि र विकासको पक्षमा काम गर्न शुभकामना दिँदै लोकतन्त्र संरक्षणका सवालमा कांग्रेस सहयोगी बन्ने पनि उनले स्पष्ट पारे।

कांग्रेस केन्द्रीय कार्यालयमा जारी बैठकमा सभापति थापाको राजीनामा र प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामबारे छलफल भइरहेको छ। केसीको अभिव्यक्तिलाई पार्टीभित्र हारपछिको आत्मसमीक्षा र नेतृत्व निरन्तरताबारे आएको महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।