काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा कारोबार रकमसँगै बजार परिसूचकमा पनि उच्च वृद्धि भएको छ ।
बिहीबार बजार परिसूचक नेप्से ६४.६७ अंकले वृद्धि भएर २८७७.०२ को बिन्दुमा बन्द भएको छ । चुनावलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतपछि ६ प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेर बन्द हुँदा नेप्से २८७५.४३ मा बन्द भएको थियो । बिहीबार बजार परिसूचक नेप्से त्यसभन्दा माथि बन्द भएको हो ।
बिहीबार बजार परिसूचकसँगै कारोबार रकम पनि २१ अर्ब नाघेको छ । १ लाख ९१ हजार २५१ वटा कारोबारमा ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता सूचीकृत सेयर कारोबार हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबार बजार परिसूचकसँगै सबै उपसमूहको सूचकमा वृद्धि भएको छ । विकास बैंक उपसमूहको सूचक सर्वाधिक ३.९५ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसमूहको सूचक ३.१६ प्रतिशत र जीवन बिमा उपसमूहको सूचक २.७६ प्रतिशतले बढेको छ ।
बिहीबार कुल २६४ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २४० कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै २२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
बिहीबार कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द हुँदा सोलु हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशत र होटल फरेस्ट इनको सेयरमूल्य ९.९६ प्रतिशतले बढेर बन्द भएको छ ।
यता महुली लघुवित्तको सेयरमूल्य २.९७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै रिडी हाइड्रोपावरको सेयरमूल्य १.६२ प्रतिशत र थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य १.५४ प्रतिशतले गिरावट भएको छ ।
बिहीबार नेप्सेमा ङ्यादी ग्रुप पावरको सेयर ६७ करोड १६ लाख रुपैयाँको किनबेच हुँदा नेशनल हाइड्रोपावर कम्पनीको ६६ करोड ९१ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको सेयर ६२ करोड ६० लाख रुपैयाँ बराबरको किनबेच भएको छ ।

Comment