काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको आठ महिनामा नेपालमा ४० अर्ब ६६ करोड ९३ लाख ८० हजार रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका तथ्याङ्क अनुसार यस अवधिमा ५५४ वटा उद्योगले वैदेशिक लगानीको प्रतिवद्धता हासिल गरेका छन् ।
गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा उद्योगको संख्या बढेपनि लगानी रकम घटेको देखिएको छ । गत वर्ष साउन–फागुनमा ४२७ उद्योगले ४४ अर्ब ६६ करोड ३ लाख ७३ हजार रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता पाएका थिए । गत आवको आठ महिनामा ४१५ साना, ८ मध्यम र ४ ठूला उद्योगमा लगानी प्रतिवद्धता आएको थियो भने चालु आवमा ५३७ साना, ८ मध्यम र ८ ठूला उद्योगमा लगानी प्रतिवद्धता आएको छ।
क्षेत्रगत विवरणअनुसार सूचना प्रविधिमूलक क्षेत्रमा सबैभन्दा बढी उद्योगले लगानी प्रतिवद्धता पाएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा ३०७ सूचना प्रविधिमूलक उद्योगले वैदेशिक लगानीको प्रतिवद्धता हासिल गरेका छन् ।
रकमका आधारमा भने कृषिमूलक क्षेत्रमा सबैभन्दा बढी २१ अर्ब ९० करोड ८० लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । उत्पादनमूलक क्षेत्रमा ३७ उद्योगमा २ अर्ब ५२ करोड ५६ लाख, पर्यटनमूलक क्षेत्रमा १५५ उद्योगमा ११ अर्ब २० लाख, र सेवामूलक क्षेत्रमा ३८ उद्योगमा ३ अर्ब ६२ करोड ८० लाख रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता आएको विभागले जनाएको छ।
महिनावार विवरण हेर्दा, पहिलो साउन महिनामा १२७ उद्योगका लागि २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ, भदौमा १०९ उद्योगका लागि, असोजमा ७५, कात्तिकमा ७१, मङ्सिरमा ५६, पुसमा ३७, माघमा ४९ र फागुनमा ३० उद्योगले लगानी प्रतिवद्धता पाएका छन्।
विशेषज्ञहरूले वैदेशिक लगानी प्रवाह वृद्धि हुनु नेपालका लागि रोजगारी सिर्जना, उत्पादन वृद्धि र प्रविधि हस्तान्तरणको अवसर भएको बताउँछन्। तर, लगानीको वास्तविक निष्पादनमा ढिलाइ हुन नदिन राजनीतिक स्थिरता र लगानी अनुकूल वातावरण आवश्यक रहेको उनीहरूको सुझाव छ।

Comment