ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। ज्योति विकास बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न सभामा शेयरधनी, सञ्चालक समितिका सदस्य, पूर्व सञ्चालक, बैंकका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सभाको औपचारिक उद्घाटन अध्यक्ष खड्काले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ।

त्यसैगरी बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पनि सभाले पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ। कार्यक्रममा अध्यक्ष खड्काले वार्षिक प्रतिवेदनको संक्षेप प्रस्तुत गरेका थिए भने बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षा अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धिहरूको जानकारी दिएका थिए।

साधारण सभामा शेयरधनीहरूले विभिन्न जिज्ञासा र सुझावहरू राखेका थिए, जसको जवाफ अध्यक्ष खड्का र सीईओ ढकालले दिएका थिए।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रममार्फत समाजमा योगदान पुर्‍याउँदै आएको जनाएको छ। नवजात शिशुको अकाल मृत्यु रोकथामका लागि सञ्चालन गरिएको ‘न्यानो नानी’ अभियानमार्फत हरेक वर्ष २,५९० भन्दा बढी शिशुको जीवन रक्षा गर्न सहयोग पुगेको बैंकले उल्लेख गरेको छ।

बैंकका अनुसार सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि अन्य बैंक तथा वित्तीय संस्थाभन्दा करिब ५० प्रतिशत बढी रकम छुट्याइएको छ। गत आर्थिक वर्षमा बैंकले करका रूपमा करिब ४१ करोड रुपैयाँ सरकारलाई योगदान दिएको छ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ। ज्योति बिकास बैंकले देशभर ११७ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।