काठमाडौं। चालु आर्थिक वर्षको सात महिनामा उपभोक्ता मूल्य सूचकांकअनुसार महँगी ३.२५ प्रतिशतले बढेको छ। अर्थात्, सात महिनासम्म १०० रुपैयाँमा पाइने सामान अहिले १०३ रुपैयाँ १५ पैसा पुगेको छ, जसको जानकारी नेपाल राष्ट्र बैंकले दिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार, अघिल्लो वर्षको सोही अवधिमा महँगी ४.१६ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको महँगी ३.६६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहको वार्षिक महँगी क्रमशः ४.९५ प्रतिशत र ३.७४ प्रतिशत थियो। आर्थिक वर्ष २०८२/८३ को सात महिनाको औसत महँगी १.९२ प्रतिशत रहेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिको औसत महँगी ४.८६ प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत, तरकारी उप–समूहको वार्षिक महँगी ११.६३ प्रतिशत, घ्यू तथा तेल ७.६१ प्रतिशत, र फलफूल ७.४१ प्रतिशतले बढेको छ। यस्तै, दाल तथा गेडागुडी ५.१९ प्रतिशतले घटेको छ भने खाद्य तथा खाद्यजन्य पदार्थ २.९७ प्रतिशत र मरमसलाको २.६१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा २१.९८ प्रतिशत, शिक्षा ७.४६ प्रतिशत, कपडा तथा जुत्ता ५.२८ प्रतिशत, सुर्तीजन्य पदार्थ ४.१५ प्रतिशत र मदिरा ३.८५ प्रतिशतले बढेको छ। सञ्चार उप–समूहमा ०.०८ प्रतिशतले घटेको छ। ग्रामीण क्षेत्रमा वार्षिक महँगी २.५२ प्रतिशत र सहरी क्षेत्रमा ३.५१ प्रतिशतले बढेको छ।
प्रदेशगत विश्लेषण अनुसार, कोशी प्रदेशको वार्षिक महँगी ३.५३ प्रतिशत, मधेश ५.१४ प्रतिशत, बागमती ३.१० प्रतिशत, गण्डकी २.४२ प्रतिशत, लुम्बिनी ३.२९ प्रतिशत, कर्णाली १.६२ प्रतिशत र सुदूरपश्चिम १.६४ प्रतिशत रहेको छ। काठमाडौं उपत्यकाको महँगी ३.४८ प्रतिशत, तराई ३.६६ प्रतिशत, पहाड २.६८ प्रतिशत र हिमाल २.५८ प्रतिशत रहेको छ।
थोक महँगीको विवरण अनुसार, २०८२ माघ महिनामा वार्षिक थोक महँगी ६.२१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको ३.४७ प्रतिशत भन्दा बढी हो। उपभोग्य वस्तु ०.७२ प्रतिशत, मध्यवर्ती वस्तु ९.८३ प्रतिशत र पुँजीगत वस्तु ३.२१ प्रतिशतले महँगी बढेको छ। निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क २.०४ प्रतिशतले वृद्धि भएको छ।
नेपालको तुलनामा भारतमा महँगी कम रहेको छ। सन् ०२६ जनवरी महिनामा भारतको वार्षिक उपभोक्ता महँगी २.७५ प्रतिशत रहेको छ, जबकि नेपालमा सोही समयमा ३.२५ प्रतिशत महँगी देखिएको छ।

Comment