काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरेपछि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।
त्यस्तै, कम्पनीले २ लाख ८१ हजार २५० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुका लागि र २ लाख ८१ हजार २५० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरेको छ । अब भने कम्पनीले बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । त्यसैगरी, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

Comment