उम्मेदवार छनोटमा आर्थिक चलखेल गरेको भन्दै राजु राईले रास्वपा छोडे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व उम्मेदवार राजु राई ले पार्टी छाडेको घोषणा गरेका छन्। २०७९ सालको निर्वाचनमा कास्की–१ बाट उम्मेदवार बनेका राईले टिकट वितरण प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै आर्थिक चलखेल र अनियमितताको विरोधमा पार्टी त्यागेका हुन्।

आज बिहान फेसबुकमार्फत राईले आफ्नो विचार राख्दै लेखेका छन्, ‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ। आजबाट राजनीति र पार्टीका लागि एक कौडी पैसो र एक सेकेन्ड खेर फाल्ने छैन। स्वतन्त्र नागरिक बनेर समाजसेवामा लाग्नेछु।’

गत माघ ४ गते टिकट नपाउने सम्भावना देखिएपछि राईले पहिले नै ‘नेताको चाकडी गरेर सांसद हुनुभन्दा जनताको कमारो बन्न तयार छु’ भनी प्रतिक्रिया दिएका थिए। पार्टीले अहिले कास्की–१ बाट लेखकसमेत रहेका खडकराज पौडेल ‘गनेस’ लाई मैदानमा उतारेको छ।

राईले टिकट छनोटमा नेतृत्वसँगको असन्तोषका कारण पार्टी छोडेको स्पष्ट पारेका छन्। नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘राजनीति भनेको फरक र नयाँ भनेर लागेको थिएँ, पुरानोजस्तै लागेपछि छाड्देको हो। नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने अवस्था आएपछि मन दुख्यो।’ उनले थपे, ‘पैसा माग्न सकेनन् र त टिकट दिएनन्। २५ हजार हाल्ल लगाए, त्यसपछि एकपटक फोन पनि गरेनन्।’

गत चुनावमा कास्की–१ बाट राईले १० हजार ९४१ मत प्राप्त गरेका थिए। विजयी बनेका मनबहादुर गुरुङ (एमाले) २५ हजार ७०८ मत, किशोरदत्त बराल (नेपाली कांग्रेस) २३ हजार १८९ मत प्राप्त गरेका थिए।

समानुपातिकतर्फ यस क्षेत्रमा एमालेले २१ हजार ४२३, कांग्रेस १६ हजार २६८, रास्वपा १५ हजार ८६४, माओवादी ५ हजार १०८, राप्रपा ३ हजार ८६६ र नेकपा (एकीकृत समाजवादी) १ हजार १३ मत ल्याएका थिए।

राजु राईको निर्णयले टिकट वितरण र आर्थिक चलखेलप्रति उठेका सवाललाई पुनः चर्चा केन्द्रमा ल्याएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।