काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको चहलपहलसँगै मुलुकमा आर्थिक गतिविधि बढेको संकेत देखिएको छ। बजारमा कारोबार वृद्धि र खर्चको चलायमानतासँगै वैदेशिक व्यापारमा पनि सकारात्मक सुधार देखिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्म सात महिनामा कुल ११ खर्ब २३ अर्ब रुपैयाँ बराबरको आयात भएको छ। यो परिमाण गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १३.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँको आयात भएको थियो। चालु आवको माघ महिनामा मात्रै १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले देखाउँछ।
उता, निर्याततर्फ पनि उल्लेख्य वृद्धि देखिएको छ। सात महिनामा कुल निर्यात ३२ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यही अवधिमा १ खर्ब २७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। चालु आवको माघ महिनामा मात्रै २६ अर्ब १२ करोड रुपैयाँको निर्यात भएको छ।
यद्यपि, व्यापार सन्तुलन अझै पनि चुनौतीपूर्ण अवस्थामा रहेको छ। माघसम्म कुल व्यापार घाटा ७ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। आयात–निर्यात अनुपात ६.६१ प्रतिशत रहेको छ, जसअनुसार नेपालले एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँभन्दा बढीको वस्तु आयात गरिरहेको छ।
तर, अनुपातमा क्रमिक सुधार देखिएको छ। गत आर्थिक वर्षको माघसम्म यस्तो अनुपात ७.७७ प्रतिशत रहेकामा चालु आवमा घटेर ६.६८ प्रतिशतमा झरेको छ।

Comment