काठमाडौँ । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले पाँच अर्ब नौ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन् । गत पुसमा पाँच अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो ।
देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन । विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको सङ्ख्यामा केही बढोत्तरी भएको छ ।
विभागका अनुसार गत माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४८८ रुपैयाँ, रजिष्टेसन दस्तुर दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ रुपैयाँ सङ्कलन भएको थियो । त्यसैगरी पुँजीगत लाभकरबापत एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ रुपैयाँ सङ्कलन भएको विभागले जनाएको छ ।

Comment