पूर्वराजा ज्ञानेन्द्रको काठमाडौँ आगमनमा भव्य स्वागत गर्ने राप्रपाको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्कँदा भव्य स्वागत गर्ने तयारी गरेको छ। पारिवारिक भेटघाटका लागि झापा पुगेका पूर्वराजा शाह फागुन १ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

राप्रपाका शीर्ष नेताहरूले पूर्वराजाको स्वागतका लागि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन कार्यकर्ता, समर्थक तथा राजसंस्थावादीहरूलाई आह्वान गरेका छन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले फागुन १ गते पूर्वराजाको भव्य स्वागत गरिने बताउँदै निषेधको राजनीति अन्त्य गर्न देशभक्त र राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने उल्लेख गरेका छन्। उनले भनेका छन्,
‘हामी फागुन १ गते राजालाई काठमाडौँ विमानस्थलमा भव्य स्वागत गर्नेछौँ। निषेधको राजनीति अन्त्यका लागि देशभक्त, राष्ट्रवादी शक्तिहरू एकजुट बनौँ।’

यस्तै, राप्रपाका वरिष्ठ नेता धवल शमशेर राणाले पनि पूर्वराजाको काठमाडौँ आगमनलाई सभ्य र भव्य बनाउन अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत आह्वान गर्दै उनले सम्पूर्ण राजभक्त तथा देशभक्तहरूलाई विमानस्थलमा उपस्थित हुन आग्रह गरेका छन्। उनले भनेका छन्,
‘फागुन १ गते श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार झापाबाट हुने फिर्ती सवारीलाई सभ्य र भव्य बनाउन सम्पूर्ण राजभक्त, देशभक्तहरू एक भएर काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगौँ।’

राप्रपाका नेता रवीन्द्र मिश्रले पनि राप्रपा तथा राजसंस्थावादी समूहहरूलाई फागुन १ गते काठमाडौँ विमानस्थलमा उपस्थित भई पूर्वराजाको भव्य स्वागत गर्न अपिल गरेका छन्। उनले देशमा राजसंस्थाको आवश्यकता महसुस हुन थालेको दाबी गर्दै यसलाई सकारात्मक संकेतको रूपमा व्याख्या गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,
‘राजालाई फागुन १ गते काठमाडौँ विमानस्थलमा भव्य–भव्य–भव्य स्वागत गरौँ। देशलाई राजसंस्थाको छहारी चाहिने रहेछ भन्नेमा अब पुराना दलहरू पनि लगभग पुग्नै आँटेका छन्। राजसंस्थावादी आमसर्वसाधारण त उपस्थित हुने नै छन्, तर उपत्यका वरपर र सम्भव भएसम्म देशभरका राप्रपा तथा अन्य राजसंस्थावादी साथीहरू एक दिनका लागि काठमाडौँ आए स्वागत ऐतिहासिक हुने थियो।’

मिश्रले देश नयाँ राजनीतिक समझदारीतर्फ अग्रसर हुने संकेत देखिन थालेको पनि उल्लेख गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।