काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुससम्म निर्माण क्षेत्रतर्फ प्रवाहित कर्जा ७.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा निर्माण क्षेत्रमा २ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको सुरुवातदेखि नै निर्माण क्षेत्रतर्फको कर्जा विस्तार क्रमशः लयमा फर्कन थालेको देखिन्छ। यद्यपि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने चालु आवमा निर्माण क्षेत्रमा कर्जा विस्तार केही कम रहेको छ।
जानकारहरूका अनुसार गत आवमा तुलनात्मक रूपमा राजनीतिक स्थिरता रहेकाले कर्जा विस्तार सहज भएको थियो। तर चालु आवको सुरुवातदेखि नै राजनीतिक अन्योल र अनिश्चितताको वातावरण सिर्जना हुँदा त्यसको प्रत्यक्ष असर निर्माण क्षेत्रतर्फको कर्जा विस्तारमा परेको हो।
राष्ट्र बैंकका अनुसार चालु आवको साउनमा निर्माण क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशतले बढेको थियो। यो वृद्धि भदौसम्ममा २.६ प्रतिशत, असोजसम्ममा २.९ प्रतिशत, कात्तिकसम्ममा ३.२ प्रतिशत, मंसीरसम्ममा ५.२ प्रतिशत र पुससम्ममा ७.२ प्रतिशत पुगेको छ। गत असारसम्म २ खर्ब ३१ अर्ब ३९ करोड रुपैयाँ रहेको निर्माण क्षेत्रको कर्जा पुससम्ममा २ खर्ब ४८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कुल १६ अर्ब ६६ करोड रुपैयाँ कर्जा वृद्धि भएको हो।
पछिल्ला महिनाहरूमा ब्याजदर घट्दै जानु र सञ्चालनमा रहेका परियोजनाहरूमा ठूला अवरोध नआउनु निर्माण क्षेत्रतर्फको कर्जा विस्तार बढ्नुको प्रमुख कारण मानिएको छ।
गत आर्थिक वर्षको साउनमा निर्माण क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले घटेको थियो भने भदौसम्ममा १.२ प्रतिशतले वृद्धि भएको थियो। त्यसपछि क्रमशः कर्जा विस्तारको क्रम अघि बढेको देखिन्छ। राष्ट्र बैंकका अनुसार गत आवको असोजसम्म निर्माण क्षेत्रतर्फको कर्जा २.२ प्रतिशत, कात्तिकसम्म १.८ प्रतिशत, मंसीरसम्म ३.५ प्रतिशत र पुससम्म ७.७ प्रतिशतले बढेको थियो।
चालु आवको पहिलो छ महिनामा निर्माण क्षेत्रमा गएको कर्जामध्ये सडक, पुललगायत ठूला तथा गैरआवासीय निर्माण परियोजनातर्फ जाने कर्जा सबैभन्दा धेरै १२.६ प्रतिशतले वृद्धि भएको छ। गैरआवासीय निर्माण क्षेत्रमा कर्जा ८.१ प्रतिशतले बढ्दा आवासीय निर्माण कर्जा भने २.६ प्रतिशतले घटेको छ।
गत आवको पुससम्म निर्माण क्षेत्रमा २ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। २०८१ असारमा २ खर्ब ७ अर्ब ९९ करोड रुपैयाँ रहेको कर्जा पुससम्ममा १५ अर्ब ९४ करोड रुपैयाँले वृद्धि भएको थियो।
गत वर्षको साउन–पुस अवधिमा निर्माण क्षेत्रतर्फ कुल ७.७ प्रतिशत कर्जा वृद्धि भएको थियो। सो अवधिमा आवासीय निर्माण कर्जा २.२ प्रतिशतले बढ्दा गैरआवासीय निर्माण कर्जा ४.६ प्रतिशतले घटेको थियो। ठूला निर्माण परियोजनातर्फको कर्जा भने १५.४ प्रतिशतले वृद्धि भएको थियो।
अर्थतन्त्रको सुस्तता लम्बिँदै जाँदा निर्माण क्षेत्र चलायमान हुन अपेक्षाभन्दा बढी समय लागेको देखिन्छ। विगतमा अन्य क्षेत्र सुस्त हुँदा निर्माण क्षेत्र सक्रिय हुने र त्यसले समग्र अर्थतन्त्रलाई गति दिने भूमिका खेल्ने गरेको भए पनि पछिल्लो समय कर्जा प्रवाह मुख्यतः सेयर बजारतर्फ केन्द्रित भएको जानकार बताउँछन्। अन्य उत्पादनमूलक क्षेत्रमा जाने कर्जामा भने अझै संकुचन कायम रहेको छ।
पछिल्लो समय ब्याजदर घटेपनि त्यसको लाभ निजी क्षेत्रले पर्याप्त रूपमा लिन नसकेको गुनासो छ। ‘जेनजी आन्दोलन’ पछिको अवस्थाले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण र सुरक्षाको प्रत्याभूति नदिएको महसुस गराएको भन्दै उद्यमी–व्यवसायीहरूले नयाँ कर्जाको माग नगरेको जानकारहरूको भनाइ छ। यसको प्रत्यक्ष असर कर्जा विस्तार र समग्र अर्थतन्त्रमा परेको उनीहरूको विश्लेषण छ।
यद्यपि सुस्त गतिमै भए पनि निर्माण क्षेत्रतर्फको कर्जा विस्तार क्रमशः बढिरहनु सकारात्मक संकेत भएको अर्थविद्हरू बताउँछन्।

Comment