काठमाडौँ । चालु आर्थिक वर्ष पहिलो ६ महिना (साउन–पुस) मा निर्यात करिब ४३ प्रतिशतको बढेको छ । जसमध्ये सबैभन्दा ठुलो हिस्सा भटमासको तेलले ओगटेको भन्सार विभागको तथ्यांकले देखाएको हो ।
विभागका अनुसार पहिलोमा भटमासको तेल, दोस्रोमा अलैँची, तेस्रोमा कार्पेट र चौथोमा सूर्यमुखी तेल सर्वाधिक निर्यात हुनेको सूचीमा छन् । कुल निर्यातको ६० प्रतिशत हिस्सा सोयाबिन तेलको रहेको छ ।
६ महिनामा कुल १ खर्ब ४२ अर्ब १ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु तथा सामान विभिन्न मुलुकमा निर्यात हुँदा ५६ अर्ब ८ करोड २४ लाख रुपैयाँको सोयाबिन तेल मात्र निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
सोयाबिन तेल ५६ अर्ब ८ करोड २४ लाख रुपैयाँको २७ करोड २२ लाख ७५ हजार किलो भारततर्फ निर्यात भएको छ ।
त्यसैगरी, दोस्रोमा रहेको अलैँची ७ अर्ब १९ करोड ९५ लाख रुपैयाँको ३४ लाख ६१ हजार किलोग्राम निर्यात भएको छ । नेपालमा उत्पादित सो अलैँचीको निर्यात बजार पनि भारत नै रहेका तथ्यांकले देखाएको छ ।
सो अवधीमा ४ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको १ लाख ९१ हजार ७५ वर्गकिलोमिटर गलैँचा निर्यात भएको छ । गलैँचा निर्यात गर्ने प्रमुख बजार भने अमेरिका रहेको छ । ६ महिनामा अमेरिकातर्फ ३ अर्ब ११ करोड १ लाख रुपैयाँ बराबरको ९७ हजार ३३५ वर्गकिलोमिटर गलैँचा निर्यात भएको छ । त्यसैगरी, जर्मन, फ्रान्स, यूके, इटालीलगायत विभिन्न मुलुकमा निर्यात हुने गरेको छ ।
त्यस्तै, ६ महिनामा ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँको २ करोड २२ लाख ६७ हजार लिटर सोयाबिन तेल भारततर्फ निर्यात भएको हो ।
सामान्यतया नेपालमा भटमास परम्परादेखि चलिआएको खेती हो । तर प्रशस्त मात्रामा उत्पादन छैन । नेपालमा प्रशस्त मात्रामा उत्पादन नहुने भटमासको तेल कच्चा पदार्थका रुपमा बाहिरी मुलुकबाट आयात गरेर भारततर्फ निर्यात गरिँदै आएको तथ्यांकले देखाउँछ ।
यसरी आधाभन्दाा बढी निर्यात हुने सोयाबिन तेल आयात विभिन्न मुलुकबाट गर्ने गरिन्छ । चालु आर्थिक वर्षको ६ महिनामा कच्चा सोयाबिन तेल ५७ अर्ब ४३ करोड ६२ लाख रुपैयाँको ३६ करोड ६९ लाख ८० हजार किलोग्राम आयात भएको छ । जुन निर्यातभन्दा १ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बढी हो ।
कुन–कुन देशबाट कति आयात हुन्छ ?
चालु वर्षको पुस मसान्तसम्म अर्जेन्टिना, ब्राजिल, थाइल्यान्ड, पाराग्वे, चीन, युक्रेन र कतारबाट सोयाबिन तेल आयात भएको छ । यी सात मुलुकबाट कच्चा सोयाविन तेल आयात गरी प्रशोधन गरेर भारत निर्यात गर्ने गरेको छ ।
यसमध्ये सबैभन्दा धेरै अर्जेन्टिनाबाट ४८ अर्ब ८३ करोड २१ लख रुपैयाँको ३१ करोड ६ लाख ८७ हजार लिटर आयात भएको छ ।
यस्तै दोस्रोमा, ४ अर्ब ९४ करोड ६३ लाख रुपैयाँको ३ करोड ३३ लाख ३४ हजार लिटर ब्राजिलबाट आयात भएको छ । तेस्रोमा थाइल्यान्डबाट ९९ लाख ३१ ह्जार लिटर १ अर्ब ६६ करोड ३० लाख रुपैेयाँमा आयात भएको छ ।
त्यसैगरी, पाराग्वेबाट १ अर्ब ४७ करोड ८८ लाख रुपैयाँको ९८ लाख २ हजार लिटर, चीनबाट ४२ करोड ४९ लाख रुपैयाँको २६ लाख ७६ हजार लिटर र युक्रेनबाट ९ करोड ७ लाख रुपैयाँको ५ लाख ४८ हजार लिटर आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
यी विभिन्न मुलुकबाट कच्चा तेल आयात गरेर निर्यात भने भारततर्फ मात्र हुने गर्छ । तेल भारत निर्यात गर्दा भन्सार छुट सुविधा हुन्छ । नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन गरिएको वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछ । अन्य मुलुकबाट भित्रिने तेलको भन्सार दर भने भारतले गत भदौमा बढाएको छ । त्यही कारण तेल उद्योगीले निर्यातलाई प्राथमिकता दिएका छन् ।
भारतमा निर्यात गर्दा उद्योगीले अग्रिम भुक्तानी पनि पाउने गरेको नेपाल वनस्पति घिउतेल उद्योग संघका सचिवालय प्रमुख दिवाकर पाण्डेले बताए । ‘भारत र नेपालबीच भन्सार दर फरक छ । निर्यात गर्दा उद्योगीले केही सहुलियत पाएका छन्,’ उनले भने, ‘भारतमा निर्यात गर्दा अग्रिम भुक्तानी हुन्छ । तर नेपालमा बिक्री गर्दा महनिौँ दिनसम्म उधारो हुन्छ । त्यही कारणले पनि निर्यातमै जोड हुन्छ ।’
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग निर्देशक नरहरी तिवारीले भारतमा भन्सार बढेपछि व्यवसायी निर्यातमा केन्द्रित भएको बताए । ‘आयात र निर्यातको तथ्यांक हेर्दा आयात बढी नै देखिन्छ । उद्योगीहरूले मौज्दात पनि गरेका छन् । केही स्वदेशमा पनि खपत हुन्छ । तर बढी मात्रामा निर्यात नै गरेका छन्,’ उनले भने ।नेपालमा प्रशस्त मात्रामा भटमास उत्पादन हुँदैन, तर सामान्य रूपमा खेती हुने गरेको सरकारी तथ्याङ्कले देखाउँछ । वार्षिक करिब २०÷३० हजार मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्कमा देखिन्छ ।

Comment