काठमाडौं बिजनेस एक्सपो–२०२६ को तयारी तीव्र, माघ १४ देखि भृकुटीमण्डपमा भव्य आयोजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) ले यही माघ १४ देखि १७ गतेसम्म आयोजना गर्न लागेको ‘काठमाडौं बिजनेस एक्सपो–२०२६’ को तयारी तीव्र रूपमा अगाडि बढाएको छ।

काठमाडौंको ऐतिहासिक स्थल भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने एक्सपोलाई भव्य, व्यवस्थित र आकर्षक रूपमा सम्पन्न गर्न संघले व्यापक तयारी गरिरहेको संघका सूचना तथा प्रकाशन समिति सभापति उज्वल जंग शाहले जानकारी दिए।

उनका अनुसार नेपालको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा रहेको काठमाडौं उपत्यकाको पहिचानलाई थप सुदृढ गर्दै यहाँका मौलिक वस्तु तथा सेवाको उत्पादन, प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले एक्सपो आयोजना गर्न लागिएको हो। स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यवसाय र नवप्रवर्तनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्नुका साथै उद्यमशीलता, स्टार्टअप, घरेलु तथा साना उद्योगलाई बजार, अवसर र दृश्यता प्रदान गर्ने लक्ष्य एक्सपोले लिएको शाहले बताए।

एक्सपोमा करिब २०० अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक स्टलहरू रहनेछन्। महोत्सवअन्तर्गत स्थानीय उत्पादन तथा सेवाको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विविध प्रस्तुति, विषयगत झाँकी, पर्यटन प्रवर्द्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविरलगायत आकर्षक तथा उपयोगी गतिविधिहरू समावेश गरिने संघले जनाएको छ।

एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको यस एक्सपोले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसर सिर्जना, काठमाडौं उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यावसायिक नेटवर्क विस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा र सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ।

संघका महासचिव दुर्गा राज श्रेष्ठका अनुसार एक्सपोमा स्वदेशी औद्योगिक उत्पादनअन्तर्गत कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन तथा मेसिनरी, फर्निचर, फुड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल तथा टुर सेवा, रियल इस्टेट, हर्बल तथा अर्ग्यानिक उत्पादन, बैंक तथा वित्तीय संस्था र जिल्लागत विशेष उत्पादनजस्ता विविध व्यावसायिक क्षेत्रका प्रदर्शकहरूको सहभागिता रहनेछ। एक्सपोलाई वृहत् राष्ट्रिय व्यापारिक मञ्चका रूपमा विकास गरिने उनले बताए।

एक्सपोमा आम सर्वसाधारणदेखि उद्यमी, व्यवसायी, युवा उद्यमी, विद्यार्थी, स्टार्टअप, पर्यटक, फुड–लभर, अन्तर्राष्ट्रिय पाहुना, आयात–निर्यात व्यवसायी, रिटेलर तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय सहभागिता रहने संघले जनाएको छ।

महोत्सवको सफलता, प्रभावकारिता र व्यापक पहुँच सुनिश्चित गर्न टाइटल, डायमण्ड, गोल्ड तथा सिल्भर स्पोन्सर, एक्जिविसन पार्टनर र विशेष सपोर्टिङ प्याकेजहरूसहित प्रायोजनका अवसरहरू पनि खुला गरिएको छ। सहभागी संस्थाहरूलाई मिडिया प्रमोशन, डिजिटल क्याम्पेन, टेलिभिजन, रेडियो तथा प्रिन्ट विज्ञापन, बाहिरी होर्डिङ, ब्यानर र ग्राउन्ड एक्टिभेशनलगायत व्यापक प्रचार–प्रसार सुविधा प्रदान गरिने संघले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।