काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएपछि महानगरपालिकाको आकस्मिक कार्यपालिका बैठक बोलाइएको छ।
मेयर शाहको राजीनामासँगै स्वतः कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेकी उपमेयर सुनिता डंगोलले आज अपराह्न ४:३० बजेका लागि कार्यपालिका बैठक आह्वान गरेकी हुन्। बैठकमा राजीनामापछिको प्रशासनिक अवस्था, कार्यवाहक व्यवस्थापन तथा आगामी कार्यदिशाबारे छलफल हुने जनाइएको छ।
मेयर शाहले आइतबार उपप्रमुख डंगोलसमक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए। राजीनामा पत्रमा उनले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले पद त्याग गरेको उल्लेख गरेका छन्।
राजीनामापछि शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका थिए। त्यहाँ उनले पार्टीका वरिष्ठ नेताको रूपमा पदभार सम्हालेका छन्। पदभार ग्रहण गरेको केही बेरमै उनी कार्यालयबाट बाहिरिएका थिए।
यसैबीच, बालेन शाह र रास्वपा सभापति रवि लामिछाने आजै जनकपुरधाम जाने कार्यक्रम तय भएको छ। जनकपुरधामबाट उनीहरूले सोमबारदेखि संयुक्त रूपमा चुनावी अभियान सुरु गर्ने पार्टी स्रोतले जनाएको छ।

Comment