एमालेभित्र शक्ति सन्तुलन फेरियो, ओली विरोधी हेभीवेट नेताहरू टिकटविहीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार छनोट गरेसँगै पार्टीभित्र व्यापक चर्चा र असन्तुष्टि देखिएको छ।

यसपटक एमालेको उम्मेदवार सूचीबाट पार्टीका प्रभावशाली तथा हेभीवेट नेताहरू बाहिरिएका छन्। हालै सम्पन्न ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरी पराजित भएका केन्द्रीय सदस्य ईश्वर पोखरेलसहितका नेताहरू टिकटबाट वञ्चित भएका हुन्।

टिकट नपाउने नेताहरूमा ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बास्कोटा, ठाकुर गैरे, कर्ण थापा, ऐन महर, झपट रावल, नारदमुनी राना, कृष्णगोपाल श्रेष्ठ, विनोद खतिवडा, छविलाल विश्वकर्मा, नीरज आचार्य, विष्णु रिजाल र उषाकिरण तिमिल्सिनासहित रहेका छन्। यीमध्ये अधिकांश नेता महाधिवेशनमा ईश्वर पोखरेल पक्षबाट सक्रिय थिए।

यद्यपि अध्यक्ष ओली निकट मानिने केही नेताहरू पनि टिकटबाट वञ्चित भएपछि निर्णयले थप तरंग ल्याएको छ। सचिवालय बैठकमा उम्मेदवार छनोट गर्दा स्पष्ट मापदण्ड नअपनाइएको भन्दै असन्तुष्टि समेत व्यक्त गरिएको छ।

नेतृ उषाकिरण तिम्सिनाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै लेखेकी छन्, “ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड। (म पाप र धर्ममा विश्वास गर्दिनँ।)”

यता उपमहासचिव योगेश भट्टराईले भने पार्टी निर्णयलाई स्वीकार गर्दै कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।”

एमालेले केही निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउन बाँकी रहेको जनाएको छ। ती क्षेत्रमा असन्तुष्ट नेताहरू समेटिने अपेक्षा गरिएको भए पनि अन्तिम निर्णयले पार्टीभित्रको आन्तरिक राजनीतिलाई थप स्पष्ट पार्ने देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।