देउवा नेतृत्वको केन्द्रीय समिति भङ्ग भइसकेको छ, विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमिति भङ्ग भइसकेको दाबी गर्दै विशेष महाधिवेशनमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन गरिने बताएका छन्।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले पार्टी विधान र नेपालको संविधानअनुसार आयोजना गरिएको यो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिने विश्वास व्यक्त गरे।

पार्टी मुख्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले आफूहरूलाई पार्टीबाट निष्कासन गरेको निर्णयप्रति टिप्पणी गर्दै थापाले भने, ‘सानेपामा बसेर गरिएको निर्णयबारे मेरो कुनै प्रतिक्रिया छैन, किनभने त्यो अस्ति नै भङ्ग भइसकेको छ। अब विशेष महाधिवेशनले नै निर्वाचन प्रक्रिया अघि बढाउँछ र नयाँ कार्यसमिति चयन गर्छ।’

सानेपाले आफूहरूलाई अलमल्याउने उद्देश्यले निर्वाचन आयोगमा पत्राचार गरेको आरोप लगाउँदै थापाले उक्त कदमप्रति आक्रोश व्यक्त गरे। आफूहरूमाथि गरिएको भनिएको कारबाहीको वैधतामाथि प्रश्न उठाउँदै उनले भने, ‘हामीलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्नुपर्थ्यो। त्यो प्रक्रिया पूरा नगरी गरिएको कारबाहीको कुनै कानुनी हैसियत छैन।’

महामन्त्री थापाले कार्यकर्ताहरूलाई संयमित रहन आग्रह गर्दै कसैको विरुद्ध गालीगलौज वा कटाक्ष नगर्न निर्देशन दिए। सामाजिक सञ्जालदेखि गाउँठाउँसम्म बोल्दा कसैको पनि अपमान नगरी सबैलाई समेटेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

नेतृत्वप्रति व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गर्दै थापाले भने, ‘कसैलाई गाली नगरिदिनुहोला। ती साथीभाइलाई पनि सँगै लिएर जानुपर्छ। केही दिनपछि जब कांग्रेसको महाधिवेशन सकिन्छ, हामी नयाँ निर्णय सुनाउँछौं। त्यसको दुई दिनपछि नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको आशीर्वाद लिन त जानु छँदैछ नि।’

विशेष महाधिवेशनले पार्टीमा नयाँ रक्तसञ्चार गर्ने र विधिको शासन स्थापित गर्ने दाबी गर्दै थापाले कांग्रेसलाई पुनः जनतामाझ भरोसायोग्य शक्तिका रूपमा उभ्याउने संकल्प व्यक्त गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।