काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र देखिएको गहिरो गतिरोध अन्त्यका लागि आफूले अघि सारेको अन्तरिम नेतृत्वको प्रस्ताव सभापति शेरबहादुर देउवाले अस्वीकार गरेको बताएका छन्।
विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले आगामी नियमित महाधिवेशनसम्मका लागि अन्तरिम रूपमा नयाँ नेतृत्व चयन गरेर अघि बढ्ने प्रस्तावमा सहमति नजुटेको जानकारी दिए। पार्टीबाट निष्कासनमा परेपछि पहिलोपटक सार्वजनिक रूपमा धारणा राख्दै थापाले बुधबार बिहान सभापति देउवासँग भएको अन्तिम चरणको वार्ताबारे पनि खुलासा गरे।
‘हामीले विशेष महाधिवेशनको हलबाट एउटा अन्तरिम नेतृत्व छानौँ, जसलाई छाने पनि हुन्छ भनेर प्रस्ताव राख्यौँ, तर उहाँहरू त्यसमा सहमत हुनुभएन,’ थापाले भने।
आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीको छवि सुधार्न यस्तो प्रस्ताव गरिएको थापाको भनाइ थियो। नेतृत्वसँगको संवाद स्मरण गर्दै उनले भने, ‘कम्तिमा टेक्ने ठाउँ दिनुस्, ताकि चुनावमा जाँदा कांग्रेस विगतका गल्ती बिसाएर नयाँ संकल्पसहित आएको छ भन्न पाइयोस्। तर कांग्रेसको अनुहार फेर्ने यो अवसरलाई अस्वीकार गरियो।’
थापाले सामूहिक नेतृत्वको मोडेलमा जान समेत प्रस्ताव गरेको तर नेतृत्व यथास्थितिवादमै अडिग रहेको गुनासो गरे। भदौ २३ र २४ गतेको घटनाअघि जस्तो रक्षात्मक अवस्थामा कांग्रेस चुनावमा जान नहुने उनको तर्क थियो। ‘कांग्रेसले कम्तिमा आफ्नो अनुहार त फेरोस् भन्ने हाम्रो चाहना थियो,’ उनले भने।
सम्बोधनका क्रममा थापाले विशेष महाधिवेशन २४८८ जना प्रतिनिधिहरूले आफ्नो अधिकार प्रयोग गरेर आयोजना गरेको स्पष्ट गर्दै आफू आयोजक नभई सहभागी मात्र भएको बताए। बन्दसत्रको निर्णय नै अन्तिम हुने र त्यसलाई सबैले स्वीकार्नुपर्ने आफ्नो मान्यता दोहोर्याए।
उनले गगन थापालाई प्रधानमन्त्री बनाउन ४० प्रतिशत सिटको प्रस्ताव गरिएको भन्ने चर्चालाई निराधार र भ्रामक भन्दै अस्वीकार गरे। ‘त्यस्तो कुनै माग वा सर्त राखिएको छैन,’ उनले स्पष्ट पारे।
थापाका अनुसार आफूहरू सभापति देउवाले बोलाएर नभई आफैं समय मागेर भेट्न गएका थिए। देश र पार्टी असामान्य अवस्थामा रहेकाले असामान्य र ऐतिहासिक निर्णय आवश्यक रहेको धारणा त्यहाँ राखिएको उनले बताए।
भदौ २३ र २४ गते युवा पुस्ताले व्यक्त गरेको असन्तुष्टि स्मरण गर्दै थापाले नेतृत्वको मूल्यांकन पार्टीभित्रको श्रद्धाभन्दा बाहिर जनताले कांग्रेसलाई कसरी हेरेका छन् भन्ने कुराले बढी अर्थ राख्ने बताए। ‘हामीलाई पद, सुरक्षित क्षेत्र वा व्यक्तिगत भविष्यको चिन्ता छैन,’ उनले भने, ‘यो सिंगो कांग्रेसको भविष्यको प्रश्न हो।’
थापाले आफू र विश्वप्रकाश शर्मा अहिले नै कुनै पद चाहने अवस्थामा नरहेको स्पष्ट गर्दै विशेष महाधिवेशनपछि ‘कांग्रेस बदलिएर आएको छ’ भनेर जनतासामु गौरवका साथ जान सक्ने वातावरण बनाउन आफूहरू खुला रहेको बताए। पार्टी एकताको प्रयास जारी रहने भन्दै उनले अन्तिम निर्णय विशेष महाधिवेशनको हलले नै गर्ने दोहोर्याए।

Comment