गगन र विश्वप्रकाशसहितका नेतालाई पार्टीबाट निष्कासन गर्ने देउवा पक्षको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेसँगै पार्टी संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ।

बुधबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो।

पार्टी हितविपरीत गतिविधि गरेको र गम्भीर अनुशासन उल्लङ्घन भएको निष्कर्षसहित यस्तो कठोर कदम चालिएको संस्थापन पक्षको भनाइ छ। नियमित महाधिवेशन आगामी पुसमा सम्भव नहुने भन्दै वैशाखमा गर्ने केन्द्रीय समितिको निर्णयमा महामन्त्रीद्वयले असहमति जनाउँदै ‘फरक मत’ राखेका थिए।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेको दाबी गर्दै थापा र शर्माले पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेपछि विवाद थप चर्किएको थियो। संस्थापन पक्षले उक्त कदमलाई विधानविपरीत र पार्टी विभाजनतर्फ उन्मुख प्रयासको रूपमा व्याख्या गरेको छ।

विवाद समाधानका लागि मंगलबार तीन चरणमा छलफल भए पनि सहमति जुट्न सकेन। बुधबार बिहान सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच भएको अन्तिम चरणको वार्ता पनि असफल भएपछि अवस्था निर्णायक मोडमा पुगेको हो।

विशेष महाधिवेशनको पक्षमा रहेका थापा र शर्माले बन्दसत्रको निर्णय नै अन्तिम हुने अडान लिँदै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए। सोही क्रममा महामन्त्री गगन थापाले सभापति पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् भने अन्य पदाधिकारीका लागि पनि मनोनयन प्रक्रिया सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय समिति बैठकले महामन्त्रीद्वयमाथि कारबाही गरे पनि विशेष महाधिवेशनको पक्षमा उभिएका अन्य नेता–कार्यकर्तालाई भने आ–आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गरेको छ। महामन्त्रीद्वयको निष्कासनसँगै नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनको संघारमा पुगेको विश्लेषण हुन थालेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।