काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशनमा कार्यविधि पारित, विभिन्न प्रस्ताव पेस
नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजक समितिले महाधिवेशन कार्यविधि पारित गरेको छ। पारित कार्यविधिअनुसार महाधिवेशनमा विभिन्न प्रस्तावहरू पेस भइरहेका छन्।
महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन्। कार्यविधिअनुसार समसामयिक राजनीतिक समीक्षा, राजनीतिक तथा पार्टीको नीति, विधानमा आवश्यक संशोधन र परिमार्जन, साथै पार्टीको संरचनागत र सांगठनिक सुधारसम्बन्धी प्रस्तावहरू पनि पेस हुनेछन्।
कार्यविधिमा केन्द्रीय कार्यसमिति विघटन गरी पन्ध्रौँ महाधिवेशन सम्पन्न नहुन्जेलका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने प्रस्ताव समावेश गरिएको छ। यसैअनुसार कांग्रेस विधानका विभिन्न मितिमा गठित केन्द्रीय निर्वाचन समिति, अनुशासन समिति र केन्द्रीय लेखा समिति विघटन गर्ने प्रस्ताव पनि लगिनेछ।
त्यसपछि नयाँ निर्वाचन समिति गठनको प्रस्ताव पेस गरिने कार्यविधिमा उल्लेख छ। पार्टी विधानको धारा १७ को उपधारा (१) बमोजिम नियमित महाधिवेशन सम्पन्न नहुन्जेल केन्द्रीय महाधिवेशनका काम, कर्तव्य र अधिकारभित्र रही महाधिवेशन प्रतिनिधिहरूले धारा २१ बमोजिम केन्द्रीय कार्यसमिति निर्वाचन गर्नेछन्।
निर्वाचन प्रयोजनका लागि एक जना संयोजकसहित पाँच सदस्यीय निर्वाचन समिति गठन गरिनेछ। गठन भएको निर्वाचन समितिले निर्वाचनसम्बन्धी कार्यविधि तथा निर्देशिका आफैं तय गरी निर्वाचन सम्पन्न गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।

Comment