काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांश नेताहरूको विरोधबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन सुरु हुन लागेको हो।
विशेष महाधिवेशन आज र भोलि दुई दिनसम्म सञ्चालन हुनेछ। आयोजक समितिका अनुसार आज बिहान विभिन्न स्थानबाट निकालिने र्याली भृकुटीमण्डपमा पुगेसँगै दिउँसो १ बजे औपचारिक रूपमा महाधिवेशनको उद्घाटन गरिनेछ।
विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो दिएका छन्। यद्यपि देउवाको सहभागिता हुने सम्भावना कमजोर बन्दै गएको आयोजकहरूको भनाइ छ। महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरू भने काठमाडौं आइसकेका छन्।
विशेष महाधिवेशन आयोजक समितिले हालसम्म करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा उभिएको दाबी गरेको छ। शनिबार भृकुटीमण्डपमै आयोजित पत्रकार सम्मेलनमा सुरुमा असोज २९ गते ५४.५८ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरिएको र त्यसयता समर्थन अझै बढ्दै गएको जानकारी दिइएको थियो।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशनको पक्षमा अझै हस्ताक्षर र खुल्ने क्रम जारी रहेको बताए। उनका अनुसार तनहुँ, झापा, धनुषा, रूपन्देही, मनाङलगायतका जिल्लाबाट थप महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।
यसैबीच, सभापति देउवालाई लामो समय साथ दिएका पूर्वउपसभापति गोपालमान श्रेष्ठसमेत विशेष महाधिवेशनको समर्थनमा खुलेका छन्, जसलाई कांग्रेसभित्रको शक्ति सन्तुलनमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।
विशेष महाधिवेशनले पार्टी नेतृत्व, कार्यदिशा र आगामी राजनीतिक रणनीतिबारे निर्णायक बहस गर्ने अपेक्षा गरिएको छ।

Comment