कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षमा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले कुलमान घिसिङलाई पार्टीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता तोडिएपछि शनिबार बसेको केन्द्रीय समिति बैठकले घिसिङलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त अध्यक्ष घिसिङले रास्वपासँग भएको एकता सहमति भङ्ग भएको औपचारिक घोषणा गर्दै अब उज्यालो नेपाल पार्टी आफ्नै छुट्टै चुनाव चिह्नसहित प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने जानकारी दिए।

घिसिङले पार्टी एकता पद र शक्तिको लेनदेनका लागि भएको भन्ने आरोप अस्वीकार गर्दै समावेशिता, सङ्घीयता लगायतका मूलभूत राजनीतिक विषयमा पूरक सम्झौता हुन नसक्दा एकता टुटेको स्पष्ट पारे। “हामीलाई पदका लागि मोलमोलाइ गरेको आरोप लगाइएको छ, त्यो निराधार हो,” उनले भने, “यसअघि म वरीयतामा तल रहेर उपाध्यक्षको भूमिकामा थिएँ। वैचारिक र संरचनागत विषयमा सहमति नजुटेपछि एकता सम्भव भएन।”

अध्यक्ष घिसिङले आजै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको जानकारी दिँदै पार्टीको केन्द्रीय समितिले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको बताए। उनले आगामी दिनमा आफ्नै नेतृत्वमा देशव्यापी अभियान सञ्चालन गर्दै पार्टीका चुनावी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उज्यालो नेपाल पार्टीले रास्वपासँगको एकता टुटेसँगै आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र पहिचानसहित प्रतिस्पर्धा गर्ने रणनीति लिएको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।