कुलमानले सार्वजनिक गरे ११५ दिनका १०७ कामको सूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुलमान घिसिङले ११५ दिनको कार्यकालमा तीन वटा महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दै १०७ वटा उल्लेखनीय काम गरेको दाबी गरेका छन्। भदौ ३० गते नियुक्त भएका घिसिङले बुधबार राति राजीनामा दिँदै आफूले सम्पादन गरेका कामहरूको सूची सार्वजनिक गरेका हुन्।

घिसिङका अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत लामो समयदेखि उठ्न नसकेको डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुल किस्ताबन्दीमा असुली प्रक्रिया अघि बढाइएको छ। बक्यौता नतिर्ने उद्योगबाट समेत महसुल उठ्न थालेको उनको दाबी छ।

मनसुनजन्य विपद् न्यूनीकरणका लागि जल तथा मौसम विज्ञान विभागमार्फत विशेष बुलेटिन प्रकाशन, पूर्वानुमान सूचना समयमै सम्प्रेषण तथा जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षण गरिएको जनाइएको छ। यसले ठूलो जनधनको क्षति हुनबाट जोगाएको उनको भनाइ छ।

ऊर्जा उत्पादनतर्फ बुढीगण्डकी जलाशययुक्त आयोजना र अपर अरुण जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने गरी वित्तीय तथा लगानी मोडालिटी तयार गरी अर्थ मन्त्रालयमा पठाइएको छ। मध्यभोटेकोशी जलविद्युत आयोजना सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको र भारत तथा बंगलादेशमा करिब १९ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात भएको पनि घिसिङको दाबी छ।

यसैगरी अन्तरदेशीय प्रसारण लाइन, ऊर्जा वण्ड जारी, नेपाल विद्युत प्राधिकरणको सेयर सर्वसाधारणलाई निष्कासन गर्ने प्रक्रिया, विद्युतीय चार्जिङ स्टेशन, सौर्य ऊर्जा नीति, तथा सिंचाइ क्षेत्रमा नयाँ संरचना विकासजस्ता निर्णयहरू समेत आफ्नो कार्यकालमा अघि बढाइएको उल्लेख गरिएको छ।

राजीनामासँगै सार्वजनिक गरिएको यो विवरणले घिसिङको छोटो कार्यकाल उपलब्धिमूलक रहेको सन्देश दिन खोजिएको देखिन्छ। यद्यपि, उनका यी दाबीहरू कार्यान्वयन र दीर्घकालीन प्रभावका हिसाबले कति सफल हुन्छन् भन्ने विषयमा बहस भने जारी रहने देखिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।