काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिने निर्वाचन प्रहरीको बजेट सुनिश्चित भएको छ। निर्वाचन सुरक्षाका लागि कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरिने भएको हो।
प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्ने र शुक्रबारदेखि ५ दिनसम्म आवेदन लिने तयारी गरेको छ। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार आवेदन प्रक्रिया सकिएपछि संयुक्त रूपमा छनोट प्रक्रिया अघि बढाइनेछ।
निर्वाचन प्रहरीमा नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जना भर्ना गर्नेछन्। छनोटपछि दुवै सुरक्षा निकायले आ–आफ्नो कोटा अनुसार तालिम सुरु गर्नेछन्। हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकाय सम्मिलित समिति गठन गरी छनोट गरिनेछ। यसअघि म्यादी प्रहरी भनिँदै आएको जनशक्तिलाई यसपटक पहिलो पटक ‘निर्वाचन प्रहरी’ नाम दिइएको छ।
निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ। यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरेका, पूर्वसुरक्षाकर्मी, छिमेकी देशका सुरक्षा निकायबाट अवकाश प्राप्त तथा सुरक्षा निकायको शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्राथमिकता दिइनेछ। फौजदारी कसुरमा सजाय पाएर नैतिक पतन नभएको हुनुपर्ने मापदण्ड छ।
छनोट भएकालाई १० दिनको तालिम दिइनेछ। तालिमपछि उनीहरूलाई एक महिना निर्वाचन सुरक्षामा खटाइने र ४० दिनको तलब उपलब्ध गराइनेछ। तलब प्रहरी जवान सरह हुनेछ। पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता र रासन पनि नेपाल प्रहरी सरह पाउनेछन्।
यसपटक देशभर १० हजार ९६७ मतदानस्थल रहनेछन्, जुन अघिल्लो निर्वाचनभन्दा १६८ वटा बढी हो। तीमध्ये ३ हजार ५ सय मतदानस्थल अति संवेदनशील मानिएका छन्। मतदानस्थल बढेसँगै सुरक्षा संवेदनशीलता बढेको भन्दै ३५ हजार निर्वाचन प्रहरी थप गरिने भएको हो।
पहिलो पटक सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी भर्ना गर्नेछ। स्ट्राइकिङ टोलीमा १८ जनाको संरचनामा ६ जना निर्वाचन प्रहरी थप गरिनेछ भने मोबाइल गस्तीमा यसअघि ७ जना रहेको सशस्त्र प्रहरी टोलीलाई १२ जनामा विस्तार गरिनेछ, जसमा ७ जना सशस्त्र प्रहरी र ५ जना निर्वाचन प्रहरी रहनेछन्।
निर्वाचन सुरक्षाका लागि ८० हजार नेपाली सेना पनि परिचालन गरिनेछ। सेनाले निर्वाचनअघि नै देशभरका विमानस्थल र कारागारको सुरक्षा जिम्मा लिनेछ, ताकि त्यहाँ खटिएका प्रहरीलाई निर्वाचन केन्द्रित गर्न सकियोस्। यसअघि जस्तै तेस्रो घेराको सुरक्षामा सेना रहने भए पनि अवस्था अनुसार सुरक्षा जिम्मेवारी लिने सरकारको तयारी छ।
निर्वाचनमा ३० हजारभन्दा बढी सशस्त्र प्रहरी, ७० हजार नेपाल प्रहरी र ८० हजार नेपाली सेना परिचालन हुनेछन्।

Comment