राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन कस्तो मापदण्ड पूरा गरेको हुनुपर्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले पेस गर्नुपर्ने कागजपत्रको सूची सार्वजनिक गरेको छ।

आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ।

उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम जम्मा गरेको रसिद वा भौचर बुझाउनुपर्नेछ। महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारका हकमा उक्त धरौटी रकममा ५० प्रतिशत छुट दिइने आयोगले जनाएको छ। आर्थिक रूपमा विपन्न उम्मेदवारका लागि भने सम्बन्धित स्थानीय तहको सिफारिस पत्र अनिवार्य हुनेछ।

यसका साथै उम्मेदवारले मतदाता नम्बर, सम्पत्ति विवरण, घर सङ्ख्या, घर रहेको स्थान, जग्गाको विवरण, संघीय कानुन बमोजिम अयोग्य नभएको भनी गरेको स्वघोषणापत्र पनि पेस गर्नुपर्नेछ।

कुनै लाभको पदमा नरहेको स्वघोषणा, कुनै जिम्मेवारी वा निर्वाचित पदमा रहेको भए राजीनामा दिएको दर्ताको निस्सा, कुनै अयोग्यता नरहेको घोषणापत्र तथा उम्मेदवार आफैँ वा निजका प्रतिनिधि, प्रस्तावक वा समर्थकबाट सहीछाप गरिएको मनोनयनपत्र पनि अनिवार्य रूपमा पेस गर्नुपर्ने आयोगले जनाएको छ।

त्यस्तै, २०७९ सालको प्रदेशसभा सदस्यतर्फ समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको बन्द सूचीमा रहेको भए त्यसबाट नाम फिर्ता लिएको कागजात पनि पेस गर्नुपर्नेछ।

आयोगका अनुसार प्रस्तावक र समर्थकको नाम सम्बन्धित प्रदेशसभा सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा रहेको खुल्ने कागजात समेत पेस गर्नुपर्नेछ।

निर्वाचनको तयारीस्वरूप आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको छ भने निर्वाचन कार्यालय पनि स्थापना गरिसकेको छ। राजनीतिक दलहरूले समेत उम्मेदवार छनोटका लागि प्रारम्भिक तयारी तीव्र पारेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।