काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले ‘नेपालपे’ नेसनल कार्ड स्किमलाई व्यावसायिक रूपमा विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको छ । डिस्काभर नेटवर्क सँगको सहकार्यमा अब यो कार्ड नेपाल बाहिर पनि स्वीकार्य हुने भएको छ ।
एनसीएचएलका अनुसार नेसनल पेमेन्ट स्विच परियोजना अन्तर्गत नेपालपे कार्ड र नेशनल कार्ड स्विच पूर्ण रूपमा सञ्चालनमा आएको हो। यससँगै बैंक तथा वित्तीय संस्थाहरूले जारी गर्ने नेपालपे कार्डहरू अब नेपालका एटिएम र पीओएस टर्मिनलमा मात्र सीमित नभई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिनेछ ।
यो सहकार्यपछि नेपालपे कार्ड प्रयोगकर्ताहरूले डिस्कभर नेटवर्क र डाइनर्स क्लब इन्टरनेसनल को सञ्जाल रहेका विश्वका १९० भन्दा बढी देश र क्षेत्रहरूमा भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी, नेपालका मर्चेन्टहरूले पनि डिस्कभर, डाइनर्स क्लब र अन्य ३० भन्दा बढी नेटवर्क एलायन्सका करिब ३७ करोड ८० लाखभन्दा बढी कार्डहरूबाट भुक्तानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले नेपालपे कार्ड र नेसनल कार्ड स्विचको सदस्यताका लागि सम्झौता गरिसकेका छन् । यस प्रणालीले कार्ड कारोबारमा अन्तर-आबद्धता, राउटिङ, सेटलमेन्ट र विवाद समाधान जस्ता एकीकृत सुविधाहरू प्रदान गर्दछ ।
एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले यसलाई नेपालको डिजिटल यात्राको एक महत्वपूर्ण रूपान्तरण भनेका छन् । उनका अनुसार यस पहलले स्वदेशी कार्ड कारोबारको लागत घटाउन, डाटा लोकलाइजेसन सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय स्तरको सुरक्षित भुक्तानी सेवा प्रदान गर्न सहयोग पुग्नेछ ।
त्यस्तै, डिसकाभरका भाइस प्रेसिडेन्ट शुभ्रजित बसुले यो साझेदारीले एसिया-प्रशान्त क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुत बनाउने र नेपाली प्रयोगकर्ताहरूलाई गुणस्तरीय भुक्तानी सेवाको पहुँच दिने विश्वास व्यक्त गरे ।
नेपाल राष्ट्र बैंकको नेतृत्वमा २०६५ सालमा स्थापना भएको एनसीएचएलले हाल कनेक्ट आईपीएस, कर्पोरेट पे, नेपालपे क्युआर लगायतका विभिन्न डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालन गर्दै आएको छ । हाल नेपालको करिब ७५ प्रतिशत गैर-नगद कारोबार एनसीएचएलमार्फत नै राफसाफ हुने गरेको छ ।

Comment