काठमाडौं । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा नेपालबाट हुने वस्तु निर्यात ५८. १७ प्रतिशतले बढेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको मंसिर मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
पाँच महिनाको अवधिमा एक खर्ब १६ अर्ब रूपैयाँ बराबरको निर्यात भएको छ। पाँच महिनामा औसत मासिक निर्यात २३ अर्ब २ करोड बराबरको छ भने मंसिर महिनाको निर्यात पनि २३ अर्ब रूपैयाँ बराबरको छ।
गत आवको पहिलो पाँच महिनामा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।
समीक्षा अवधिमा सोयाविनको तेलको निर्यात सबै भन्दा धेरै देखिएको छ । समीक्षा अवधिमा ४६ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ बराबरको २२ करोड ५२ लाख ८८ हजार केजी सोयाबिन तेल निर्यात भएको छ ।
दोस्रोमा अलैंची रहेको छ । समीक्षा अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख रुपैयाँको अलैंची निर्यात भएको छ । तेस्रो स्थानमा भने कार्पेट रहेको छ । चार अर्ब १३ करोड ४६ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिर मसान्तसम्ममा नेपालले विश्वका विभिन्न देशबाट ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजार रुपैयाँबराबरको सामान आयात गरेको छ।
आयात भने १५.८३ प्रतिशतले बढेको हो। गत आर्थिक वर्ष २०८१/०८२ को सोही अविधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरको सामान आयात भएको थियो।
यसैगरी व्यापार घाटा भने १०.५२ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ६८ करोड १ लाख ५६ हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिको व्यापार घाटा भने ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँ रहेको थियो।


Comment