आजदेखि सुरु हुँदै दोस्रो एनपिएल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि शुरु हुदैछ।

क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डौं गोर्खाज खेल्दैछन् ।

किर्तिपुरस्थित टियु मैदानमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुने छ। यस सिजनको एनपीएलका धेरै जसो खेल नवनिर्मित टियु क्रिकेट मदानको फ्लडलाइटमा हुने छ।

दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ। यस पटक कुल ३२ खेल हुने छन्।

क्यानले गत वर्ष एनपिएलका लागि आठ सहरका नाममा टिम छुट्याएर बिक्री गरेको थियो। विगतकै टिमहरू च्याम्पियन जनकपुर बोल्ट्स, गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन्।

सबै टिमले टिम अक्सन र विश्वका सुपरस्टार क्रिकेटरहरू आबद्ध गरेर एकसे एक टिम तयार पारेका छन्। हरेक टिमसमक्ष कम्तीमा चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी टिममा राख्न पाउने प्रावधान छ।

यस पटक फाप डुप्लेसि, जेसन रोय, वायने पार्नेल, क्रिस लिन, इमरान ताहिर जस्ता सुपरस्टार विदेशी खेलाडी पनि थपिएका छन्। दोस्रो एनपिएलमा ४० भन्दा बढी विदेशी आबद्ध भइसकेका छन्। सहभागी टिमहरूले खेलाडी मात्र होइन, विश्वका नामी प्रशिक्षकलाई पनि आबद्ध गरेर दोस्रो एनपिएलको आकर्षण बढाएका छन्।

यसपालि आठमध्ये पाँच टिमले विदेशी प्रशिक्षक आबद्ध गरेका छन्। गत वर्ष जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउने पुबुदु दसनायके विराटनगर किङ्सको प्रशिक्षक बनेका छन्।

अन्य चार विदेशी प्रशिक्षक नयाँ हुन्। जनकपुरले वेस्ट इन्डिजका महान् ब्याट्सम्यानमध्ये एक शिवनारायण चन्दरपलले प्रमुख प्रशिक्षकका रूपमा टिममा भित्र्याएको छ।

नेपालका पूर्वप्रशिक्षक मोन्टी देसाईमाथि काठमाडौँ गोर्खाजले विश्वास गरेको छ। यसै गरी पोखरा एभेन्जर्सले भारतका राजीव कुमार र लुम्बिनी लाइन्सले भारतीय मूलका टिनु योहान्नालाई आआफ्नो टिमलाई च्याम्पियन बनाउने जिम्मेवारी सुम्पेका छन्।​

एनपीएलको लिग चरणको अन्तिम खेल डिसेम्बर ७ को आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने छ। त्यस्तै प्लेअफका खेलहरु डिसेम्बर ९ मा पहिलो क्वालिफायर खेल हुने छ भने डिसेम्बर १० मा इलिमिनेटर र डिसेम्बर ११ मा दोस्रो क्वालिफायर खेल हुने छ।

त्यस्तै मङ्सिर २७ अर्थात डिसेम्बर १३ शनिबार एनपीएलको फाइनल खेल हुने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।