वीपी राजमार्ग पुनर्निर्माणका लागि जापानसँग सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जापान सरकारले बाढीबाट प्रभावित बीपी राजमार्ग (सिन्धुली सडक)को आपत्कालीन पुनर्निर्माण गर्न २.६ अर्ब रुपैयाँ (२.८ अर्ब जापानी येन) बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ । बिहीबार दुई देशका अधिकारीहरू अनुदान सहयोग सम्बनधी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा नेपालका लागि जापानका राजदूत मैदा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

२०८१ असोजमा आएको बाढीले बीपी राजमार्गको भकुण्डेबेंसीदेखि नेपालथोकसम्म ३० किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो । उक्त सडकलाई अब दुई लेनमा पुनर्निर्माण गर्न लागिएको हो ।

३० किमी सडकलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माण गर्न लागिएको हो । जसमा २५ किलोमिटरको ३ प्याकेजमा ठेक्का लगाइसकिएको छ ।

भकुण्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमी खण्डको ठेक्का लामा/नव कान्तिपुर जेभीले पाएको छ । कम्पनीले १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का पाएको हो ।

त्यस्तै, चारसयबेंसीदेखि डालाबेंसीसम्म ८.५ किमी दूरीको ठेक्का खानी/कमलजित/एवान जेभीले पाएको छ । यसखण्डको १ अर्ब ४२ करोड रुपैयाँमा सम्झौता भएको छ ।

त्यसैगरी, सिन्धुलीतर्फको बर्खेखोला नेपालथोक ४ किमी सडकखण्डको ठेक्का खरिढुंगा/घिसिङ/क्षितिज जेभीले पाएको हो । कम्पनीले ६१ करोड १४ लाख रुपैयाँमा ठेक्का पाएको हो ।

ठेक्का लाग्न बाँकी ५ किमी खण्डमध्ये पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किमी सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बनाइ दिने भएको छ । उक्त खण्डको अहिले जाइकाले फाइनल सर्भे गरिरहेको छ । बाँकी खण्ड जापानको अनुदानमा नेपाल सरकारले बनाउने छ ।

मध्य र पूर्वी तराईलाई राजधानी काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो दूरीको बीपी राजमार्ग २० वर्ष (सन् १९९५ देखि २०१५ सम्म) लगाएर जापानी सरकारले निर्माण गरिदिएको हो ।

यस सडकले नेपालको आर्थिक वृद्धिमा योगदान पुर्याएको विश्वास काठमाडौंस्थित जापानी दूतावासले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । यो परियोजना नेपालको लागि दिगो आर्थिक विकास हासिल गर्न र जापान र नेपाल बीचको सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास जापानी दूतावासले व्यक्त गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।