काठमाडौं। नेपाली क्रिकेट टोलीलाई दुबईले भिसा दिएको छ । भिसा पाएको नेपाली टोली सोमबार त्यसतर्फ उड्ने छ।
वेस्ट इन्डिजविरुद्ध हुने तीन ट्वान्टी–२० शृंखला खेल्ने नेपाली क्रिकेट टोली संयुक्त अरब इमिरेट्स (दुबई)ले भिसा दिएपछि रोकिएको थियो ।
आइतबार क्यानले एक विज्ञप्ति जारी गर्दै भिसा प्राप्त भइसकेको जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले यूएईले नेपाली टोलीलाई भिसा प्रदान गरिसकेको र सोमबार त्यतातर्फ प्रस्थान गर्ने जानकारी दिए ।
निर्धारित तालिकाअनुसार वेस्ट इन्डिजविरुद्ध हुने तीन ट्वान्टी–२० शृंखला खेल्न नेपाली टोली शुक्रबार बिहान यूएई जाने तालिका थियो । तर भिसा नआएकाले नेपाली टोली रोकिएको थियो । जेन–जी प्रदर्शनपछि नयाँ सरकार बनेयता यूएईले नेपालीहरुका लागि पर्यटक भिसा र कामदार भिसा दुबैमा रोक लगाएको छ ।
वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा शारजहाँमा तीन खेलको ट्वान्टी–२० शृंखला खेलेपछि नेपाली टोली ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न ओमान जाने कार्यक्रम छ । त्यसपछि नेपालले पुनः यूएईमै आएर यूएई र अमेरिकासँग लिग २ मा प्रतिस्पर्धा गर्नेछ ।
मुख्य प्रशिक्षक स्टुवार्ट ल भने शुक्रबार नै दुबई पुगिसकेका छन् । उनका अनुसार स्ट्रेन्थ एन्ड कन्डिसन प्रशिक्षक अब्दुर सतार पनि भारतबाटै दुबई पुग्ने कार्यक्रम छ ।

Comment