काठमाडाैं । देशभरको करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार हालसम्म करिब १० लाख हेक्टर जमिनमा रोपाइँ भइसकेको छ। कुल १४ लाख हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये यो उत्साहजनक प्रगति हो।
मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार यस वर्ष रोपाइँमा केही ढिलाइ भए पनि साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अपेक्षा गरिएको छ। जलवायुको प्रतिकूल प्रभाव नपरेमा रोपाइँ दरमा थप वृद्धि हुने संकेत देखिएको छ।
प्रदेशगत विवरण अनुसार सुदूरपश्चिम प्रदेश ९७ प्रतिशत रोपाइँसहित अग्रस्थानमा रहेको छ, जहाँ करिब १ लाख ७१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। त्यसैगरी, कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत तथा बागमती प्रदेशमा ८७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
यद्यपि गत वर्षको तुलनामा रोपाइँ १२ प्रतिशतले कम भएको मन्त्रालयले जनाएको छ। मौसमको असहयोग, अनावृष्टि र अतिवृष्टिजस्ता कारणहरूले कतिपय क्षेत्रमा ढिलो रोपाइँ भएको छ।
तराई क्षेत्र अझै पनि धान उत्पादनको मेरुदण्डका रूपमा रहेको मन्त्रालयको भनाइ छ। देशभरको कुल धान उत्पादनमध्ये ७० प्रतिशत योगदान तराई क्षेत्रको हुने गरेको छ भने ३० प्रतिशत पहाडी क्षेत्रको हिस्सा रहन्छ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालले ५७ लाख २४ हजार मेट्रिकटन धान उत्पादन गरेको थियो। पछिल्लो समय विकास भएका उन्नत जातका बीउबिजन, प्रविधि, ज्ञान र सीपको प्रयोगबाट आगामी दिनमा उत्पादनमा सकारात्मक वृद्धि हुने अपेक्षा गरिएको छ।
यद्यपि केही चुनौतीहरू रहेका छन्, देशभर चलिरहेको रोपाइँ अभियानले कृषिमा आशाको घाम झुल्किएको संकेत दिएको छ।
Comment