काठमाडौं । देशभर हाल मनसुनी वायु सक्रिय रहेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावले गर्दा नेपालमा व्यापक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकोले अधिकांश भू-भागमा आंशिकदेखि पूर्ण बदली देखिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुनसक्नेछ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।
राति पनि मौसम सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएको छ। हिमाली र उच्च पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना कायम छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार सम्भावित भारी वर्षाका कारण भू-क्षय, बाढी, डुबान, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्नेछ। शहरी तथा तराई क्षेत्रहरूमा डुबानको खतरा रहन सक्छ भने साना ठूला नदी, खोलानालामा पानीको सतह उच्च हुने सम्भावना पनि रहेको छ।
Comment