रविलाई नेपाली राजनीतिमा मैले नै स्थापित गराएको हुँ : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आफूले नेपाली राजनीतिमा स्थापित गराएको दाबी गरेका छन्। पत्रकार विजय कुमार पाण्डेसँगको अन्तर्वार्तामा उनले लामिछानेप्रति आफू र नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले व्यक्तिगत चासो लिएर फसाउन खोजेको भन्ने आरोपलाई पूर्णरूपमा अस्वीकार गरेका छन्।

अध्यक्ष ओलीले भने, “रवि लाई त नेपालमा चिनाएको मैले हो। मैले टेलिभिजन कार्यक्रममार्फत चिनाएको हुँ। सरकार बन्दाखेरि उनलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनुपर्छ भनेर लडेको मान्छे म हुँ।” उनले थपे कि लामिछानेको गिरफ्तारीबाट आफूलाई कुनै व्यक्तिगत फाइदा वा घाटा नहुने पनि स्पष्ट पारे।

ओलीले लामिछानेले पक्राउ पर्नुअघि तयार पारेको भिडियो सन्देशलाई ‘स्टन्टबाजी’ भनेका छन्। उनका अनुसार, “त्यो स्टन्टबाजी थियो, जसले आफू समाउन सकिँदैन भनेर वातावरण सिर्जना गर्ने प्रयास गरिएको थियो।” उनले सडकबाट न्याय खोज्ने र कानुनी प्रक्रियामा प्रभाव पार्ने प्रवृत्तिलाई अस्वीकार गर्दै भ्रष्टाचार र बेथिति विरुद्ध उभिनेहरूले यस्ता दोहोरो चरित्र देखाउनु अचम्मलाग्दो भएको बताए।

प्रधानमन्त्री ओलीले आफूले राज्य सञ्चालन गर्दा कुनै स्नेहभाव वा वैरभावबाट प्रभावित नहुने स्पष्ट गर्दै भने, “म निकै सचेत छु, स्नेहभावले पनि चल्दैन र वैरभावले पनि प्रभावित हुनुहुँदैन।” उनले सहकारी ठगी प्रकरणमा अन्य व्यक्तिहरू पनि पक्राउ परेको तर लामिछानेमाथि मात्र लक्षित प्रचार भइरहेको समेत औँल्याए। राज्यका निकायहरूले स्वतन्त्र रूपमा काम गरिरहेको र आफूले कुनै निर्देशन नदिएको पनि उनले दाबी गरे।

अन्त्यमा ओलीले आफ्नो १४ वर्षे जेल जीवनको स्मरण गर्दै भने, “मलाई पनि बिनामुद्दा चार वर्ष थुनिएको थियो,” जसले गर्दा अहिलेको घटनालाई सामान्य रुपमा लिनुपर्ने संकेत गरेका छन्।

उक्त अन्तर्वार्ताले लामिछाने प्रकरणमा चलेको राजनीतिक विवाद र आरोप–प्रत्यारोपमा प्रधानमन्त्री ओलीको स्पष्ट धारणा प्रस्तुत गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।