यूएई सरकार र व्यवसायीलाई नेपालमा लगानी गर्न अग्रवालको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजले संयुक्त अरब इमिरेट्स (यूएई) सरकार र निजी क्षेत्रलाई नेपालको कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिजस्ता सम्भावनायुक्त क्षेत्रहरूमा लगानी गर्न आग्रह गरेको छ। चेम्बरका अध्यक्ष पवन अग्रवालले यूएईका राजदूत अब्दुल्लाह जरवा अल शम्सीलाई विस्तृत प्रस्तुतीकरण मार्फत नेपालमा रहेको लगानी अवसरबारे जानकारी दिँदै सहजीकरणका लागि अनुरोध गरेका हुन्।

राजदूतावासद्वारा आयोजित कार्यक्रममा, अध्यक्ष अग्रवालले विशेषगरी अग्र्यानिक फलफूल र तरकारी—जसमा स्याउ, सरिफा, स्ट्रबेरी, कीवी, चेरी, सुन्तलाजस्ता उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा उच्च मागमा रहेको उल्लेख गरे। उनले भने, “नेपालका किसानहरूले अग्र्यानिक खेतीलाई आत्मसात् गरिसकेका छन्, जसले उत्पादनलाई प्रतिस्पर्धी बनाएको छ।” उनले मध्यपूर्व बजारमा नेपाली कृषिजन्य वस्तुको निर्यात सम्भावना अत्यधिक रहेको बताए।

ऊर्जा क्षेत्रमा, अग्रवालले नेपालमा ६ हजारभन्दा बढी नदी रहेको र ४२ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको जानकारी दिए। हालसम्म २८०० मेगावाट उत्पादन भएकोमा २१०० मेगावाट निजी क्षेत्रबाट भएको उल्लेख गर्दै उनले ३० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनमा यूएईको सहकार्य आवश्यक रहेको बताए। उनले जलविद्युत् परियोजनाबाट १२–१८ प्रतिशत प्रतिफल पाउन सकिने र ६–१० वर्षमा लगानी फिर्ता हुने जानकारी दिए।

उनले वायु ऊर्जा, साहसिक पर्यटन, हस्तकला उद्योग, तथा पेट्रोलियम प्रशोधन जस्ता क्षेत्रहरूमा पनि लगानीका अपार सम्भावना रहेको औंल्याए। विशेषगरी क्रुड आयल प्रशोधन संयन्त्र स्थापना गर्न सकिने बताएर स्थानीय उत्पादनमार्फत डिजेल, पेट्रोल, ग्यास, जेट फ्युलजस्ता पदार्थ आन्तरिक रूपमा आपूर्ति गर्न सकिने धारणा राखे।

नेपालको रणनीतिक भौगोलिक स्थिति, सस्तो श्रम, अनुकूल व्यापार नीति, एकद्वार प्रणाली, र नाफा फिर्ता गर्न सहज व्यवस्था रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षण हुने वातावरण नेपालले बनाएको बताए।

कार्यक्रममा यूएईका राजदूत अब्दुल्लाह जरवा अल शम्सीले दुई मुलुकबीचको सम्बन्धलाई श्रम–केन्द्रित मात्र नभइ लगानीमैत्री बनाउन सकिने धारणा राखे। उनले नेपालमा लगानीका सम्भावना देखिएको उल्लेख गर्दै आफूले तथ्यांकको आधारमा यूएईबाट लगानी भित्र्याउन प्रयास गर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यूएईमा रहेका ४ लाख नेपालीले दुई देशबीचको सम्बन्ध सुदृढ बनाएको बताए। उनले यूएईका लागि दक्ष श्रमिक उत्पादन गर्न नेपालमै तालिम केन्द्र स्थापना गर्नुपर्ने र सरकार तथा निजी क्षेत्रबीच सहकार्यको खाँचो रहेको उल्लेख गरे।

उनले लगानी भित्र्याउन कूटनीतिक माध्यमहरूको प्रभावकारी प्रयोग र निजी क्षेत्रको सक्रिय सहभागितालाई आवश्यक बताउँदै सरकार र महासंघले त्यस दिशामा पहल गरिरहेको जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।