काठमाडाैं । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने एसीसी पुरुष टी–२० विश्वकपको एशिया तथा इष्ट एशिया प्यासिफिक छनोट प्रतियोगितालाई लक्ष्य गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्लोज क्याम्प सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक प्रशिक्षणका लागि ३२ खेलाडीलाई क्याम्पमा बोलाएको छ, जसबाट अन्तिम १४ खेलाडी छनोट गरिनेछ।
क्लोज क्याम्पमा सहभागी खेलाडीहरूले प्रशिक्षक तथा व्यवस्थापन टोलीको निगरानीमा नियमित अभ्यास सुरु गरिसकेका छन्। नेपाल क्रिकेट संघले टोलीको प्रदर्शन, फिटनेस र रणनीतिक तयारीका आधारमा अन्तिम टिम चयन गर्ने जनाएको छ। क्यानले यस क्याम्पलाई राष्ट्रिय टोलीको तयारीलाई थप व्यवस्थित र सशक्त बनाउने अवसरका रूपमा लिएको छ।
ओमानमा अक्टोबर ८ देखि १७ सम्म हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ, जसमा जापान र कुवेत रहेका छन्। तीन राष्ट्र सम्मिलित समूहमा शीर्ष स्थान हासिल गर्दै अन्तिम चरणमा प्रवेश गर्ने नेपालले लक्ष्य लिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आगामी टी–२० विश्वकपमा स्थान सुरक्षित गर्ने योजनासमेत बनाएको छ।
क्लोज क्याम्पमा रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, करण केसी, सोमपाल कामी, कुशल मल्ल, लोकेस बम, ललित नारायण राजवंशी, अनिल साह, आरिफ सेख, सन्दीप जोरा, सागर ढकाल, पवन सर्राफ, गुलशन झा लगायत राष्ट्रिय टोलीमा अवसर पाएका अनुभविला साथै युवा प्रतिभाहरूको समेत सहभागिता छ।
क्यानले राष्ट्रिय टोलीको तयारीलाई सुदृढ बनाउन उच्चस्तरीय प्रशिक्षण, रणनीतिक अभ्यास र फिटनेसमा केन्द्रित योजनाअनुसार क्याम्प सञ्चालन गरिरहेको बताएको छ। अबको केही सातामा हुने अन्तिम टोलीको घोषणा पछिपछि नेपाल छनोट प्रतियोगिताका लागि ओमान प्रस्थान गर्नेछ।
Comment