काठमाडौं । नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने तयारी गरिएको छ। पार्टीको विधान संशोधन गर्ने उद्देश्यसहित आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिवालय बैठकले उक्त निर्णय लिने तयारीमा छ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकले वरिष्ठ उपाध्यक्षको पद पार्टीको विधानबाट हटाउने निर्णय गर्ने एमाले स्रोतले जनाएको छ। उक्त पदमा हाल ईश्वर पोखरेल रहेका छन्, जो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर लागेका थिए।
“पार्टीको विधानमा वरिष्ठ उपाध्यक्ष पद हटाउने गरी संशोधनको प्रस्ताव सचिवालय बैठकमा पेस हुँदैछ,” एमाले विधान संशोधन प्रक्रियासँग नजिक एक नेताले भने, “यो संशोधित विधान आगामी भदौमा हुने विधान महाधिवेशनबाट अनुमोदन भएपछि लागू हुनेछ।”
एमालेले दोस्रो विधान महाधिवेशन भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनको तयारीबारे समेत आजको सचिवालय बैठकमा छलफल हुने बताइएको छ।
पार्टीभित्र पछिल्लो समय अध्यक्षको कार्यकाल २ वर्षमा सीमित गर्ने र ७० वर्ष उमेरहदको व्यवस्था राख्ने विषयमा तीव्र विवाद चलिरहेको छ। आजको बैठकमा ती विषयमा पनि प्राथमिक छलफल हुने अनुमान गरिएको छ।
Comment