काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पुराना कानुन संशोधन गर्दै वनसम्बन्धी ऐनलाई समयसापेक्ष बनाउने कार्यमा सरकार सक्रिय रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को २३औं वार्षिक साधारण सभामा बोल्दै उनले मन्त्रालयमाथि लाग्दै आएका वन विकास विरोधी आरोपहरूको समाधान केही हदसम्म भइसकेको बताए।
उनले भने, “वन तथा वातावरण मन्त्रालयमा सधैं लाग्दै आएको वन विकास विरोधी आरोपका विषयमा हामीले धेरै हदसम्म समाधान गरेका छौं। पुराना ऐन तथा नियमलाई सुधार गर्दै विकासलाई सहजीकरण गर्ने दिशामा अघि बढिरहेका छौं।”
मन्त्री ठकुरीले दिगो आर्थिक विकासमा मन्त्रालयको सक्रिय भूमिका रहोस् भन्ने उद्देश्यसहित बजेट, नीति तथा कार्यक्रममा समेत उल्लेख्य सुधार गरिएको जानकारी दिए। उनले दिगो विकासलाई प्राथमिकता दिँदै वातावरण र विकासबीच सन्तुलन कायम गर्न मन्त्रालयले नीति निर्माणमा ध्यान केन्द्रित गरिरहेको बताए।
त्यसैगरी, उनले जलविद्युत क्षेत्रलाई नेपालको महत्वपूर्ण मेरुदण्डको रूपमा परिभाषित गर्दै यसको दिगो विकासका लागि सरकार कटिबद्ध रहेको बताए। “विद्युत्को सम्भावनालाई मूर्त रूप दिन सक्नु भनेको देशको आर्थिक समृद्धिको मूल आधार तयार गर्नु हो,” मन्त्री ठकुरीले स्पष्ट पारे।
उनका अनुसार जलविद्युत र वन क्षेत्रको समन्वयात्मक विकासले मुलुकको समृद्धि यात्रालाई द्रुत गतिमा लैजान सक्नेछ।
Comment