काठमाडौं । अन्तरराष्ट्रिय जलरङ समाज नेपाल (आइडब्लुएस नेपाल)ले विदेशी कलाकारको समेत सहभागितामा ‘चौथो अन्तरराष्ट्रिय जलरङ महोत्सव, २०८२’ आयोजना गरिने भएको छ।
समाजका अध्यक्ष एनवी गुरुङले आगामी असोजको २२ देखि २६ गतेसम्म काठमाडौँका विभिन्न स्थानहरू (काठमाण्डौँ, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगरपालिका) क्षेत्रमा महोत्सव आयोजना गर्ने घोषणा गरेका हुन्।
उनले यसपटक भने उक्त महोत्सव एसियन संस्करणका रुपमा आयोजना गरिने र विभिन्न १६ देशका १०० जना कलाकारले सृजना गरेका १०० कलाकृतिहरू प्रदर्शन गरिने पनि जानकारी दिए।
उनका अनुसार यसपालि नेपालसहित भारत, चीन, बंगलादेश, सिंगापुर, मलेसिया, कोरिया, इन्डोनेशिया, फिलिपिन्स, मंगोलिया, जापान, पाकिस्तान, इरान, म्यानमार थाइल्याण्ड र श्रीलंकाका कलाकारहरू सहभागी हुँदैछन्।
कार्यक्रम घोषणासँगै तयारी पनि तीव्ररुपमा अघि बढाइएको उनले बताए।
सन् २०१६ मा स्थापना भएको अन्तरराष्ट्रिय जलरङ समाज नेपाल १२० भन्दा बढी देशमा फैलिएको अन्तरराष्ट्रिय जलरङ समाजको एक महत्वपूर्ण शाखा हो।
यसले नेपालका विभिन्न क्षेत्रमा पुगेर विदेशी कलाकारलाई समेत सहभगी गरी कला सिर्जना गर्ने, संस्कृति आदानप्रदान गर्ने र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने खालका गतिविधि गर्दै आएको छ।
अध्यक्ष गुरुङले भने, “स्थापनाकालदेखि नै समाजले नेपाली कला र नेपाली पर्यटनको विकासका लागि महत्वपूर्ण कार्यक्रम गर्दै आएको छ । यसअघि समाजको नेतृत्वमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कला प्रदर्शनी, कार्यशाला र स्थलगत चित्रण कार्यशाला सम्पन्न गरिसकिएको छ।”
समाजले सन् २०१६ प्रथम अन्तर्राष्ट्रिय जलरङ महत्सोव काठमाडौँ र घान्द्रकमा आयोजना गरेएको थियो।
यस्तै २०१८ दोस्रो अन्तराष्ट्रिय जलरङ महत्सोव काठमाडौँ र लुम्बिनीमा आयोजना भएको थियो। उक्त कार्यक्रम ३९ देशका २७५ कलाकारको सहभागीता थियो।
सन् २०२२ मा पोखरा अन्तरराष्ट्रिय जलरङ महत्सोव आयोजना भएको थियो ४ देशीय महोत्सव भएको थियो। सन् २०२३ मा तेस्रो अन्तराष्ट्रिय जलरङ महोत्सव काठमाडौँमा आयोजना भएको थियो। ३७ देशका नेपाली विदेशीसहित गरेर २७६ कला प्रदर्शनी भएको थियो। यसअघि सम्पन्न भएका ४ वटा अन्तर्राष्ट्रिय कला महोत्सवले नेपाली कलाको क्षेत्रमा दुरगामी योगदान पुर्याएको दावी समाजको छ ।
‘अन्तरराष्ट्रिय जलरङ महोत्सव’मा १६ देशका १०० कलाकारका १०० चित्रकला प्रदर्शन गरिने छ। महोत्सवअन्तरगत नेपाल तथा एशिया महादेशका ६० जना कलाकारहरुले काठमाडौँ उपत्यकाका ऐतिहासिक क्षेत्रमा सहभागी भएर प्रत्यक्ष चित्रकला सिर्जना गर्नेछन्।
अध्यक्ष गुरुङका अनुसार महोत्सवका अवसरमा कला र प्रर्यटन शीर्षकमा अन्तरक्रिया समेत आयोजना गरिने र स्थानीय सांस्कृतिक एवं पर्यटकीय क्षेत्रहरुलाई अन्तरराष्ट्रिय तहमा चिनाउने लक्ष्य राखिएको छ। साथै कला सिर्जना गर्ने तरिकासमेत प्रस्तुति रहने जनाइएको छ।
Comment