पहिरो जान लागेको कसरी थाहा पाउने ? यी हुन् पूर्व संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनसुन सुरु भएसँगै बाढी र पहिरो जानेक्रम बढेको छ । बर्सेनि पहिरोका कारण सयौँ मानिसको ज्यान जाने गरेको छ । ठूलो परिमाणमा भौतिक क्षति हुने गरेको छ ।

त्यसैले पहिरोको जोखिम कम गर्न र यसबाट बच्न सरकारले आग्रह गर्दै आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीयस्तरमै पहिरोको जोखिम कम गर्न सकिने र सचेत भए यसबाट बच्न सकिने जनाएको छ ।

पहिरो जानुअघि यसका पूर्वसंकेतहरू हुने र यसबारे जानीराखे क्षति कम गर्न सकिने प्राधिकरणको भनाइ छ । प्रायः सुख्खा रहेको भिरालो जमिन पानी नपर्दै रसाउँछ र भुक्क फुल्छ ।

“जमीनमा चिरा परेको देखिनु, धाँजा फाट्नु र यो क्रम बढ्दै जानु, रुख, बिजुलिका खम्बा तथा घरहरू ढल्नु वा बांगो देखिन्छ,” प्राधिकरणले भनेको छ, “जरुवा पानीको मुल सुक्नु तथा अस्वाभाविकरूपमा धमिलो हुनु अथवा नयाँ ठाउँबाट पानी पलाउन सुरु हुनु पहिरोका पूर्वसंकेत हुन् ।”

घरका भित्तामा चिरा देखिनु र यो बढ्दै जानु पनि पहिरोको संकेत हो । घरका झ्याल–ढोका बांगिनु र खोल्न गाह्रो हुनु पनि पहिरोको संकेत भएको प्राधिकरणले जनाएको छ ।

भिरालो जमिनको बाहिरी सतह बग्न थाल्नु र ढुंगा–माटो खसेकोजस्तो आवाज आउनु पहिरोको पूर्वसंकेत भएको प्राधिकरणले जनाएको छ ।

जमिनमुनीबाट चट्याङ फुटेकोजस्तो कट्कट् आवाज आउनु र जमिन थर्केकोजस्तो आवाज आउनु पनि पहिरो जाने संकेत हो ।

यस्ता संकेत देखिए नआत्तिने तर तत्काल सुरक्षित स्थानतर्फ सर्नुपर्छ । उद्धारकर्मी तथा सुरक्षाकर्मीलाई खबर गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।