वास्तविक अर्थतन्त्र निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ : सिबिफिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र कोरेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नीतिको स्वागत गरेको छ।

सिबिफिनले एक विज्ञप्तिमार्फत देशको आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, निजी क्षेत्रको मनस्थिति र विश्व परिवेशको वस्तुनिष्ठ विश्लेषणका आधारमा राष्ट्र बैंकले लिएको सन्तुलित, समयसापेक्ष र उदार नीतिगत निर्णयले बैंकिङ क्षेत्रको मनोबल र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरेको छ।

“लामो समयदेखि सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने प्रयासस्वरूप मौद्रिक नीतिमा अनुगमन र सुपरिवेक्षणमा जोड दिइनु, बैंकिङ गतिविधिलाई जीवन्त बनाउँदै दिगो अर्थतन्त्रको जग बसाल्न स्पष्ट दिशानिर्देश गरिएको छ”, सिबिफिनको भनाइ छ।

पुँजीकोषमा दबाब झेलिरहेकाबेला कर्जा लगानी क्षमता बढाउने, व्यवस्थापन सहज बनाउने र वित्तीय स्थायित्व कायम गर्ने उद्देश्यले लिइएको नीति, साथै बैंकदर र नीतिगत दरमा गरिएको कटौतीले कर्जा विस्तार सहज बनाउने विश्वास परिसंघले व्यक्त गरेको छ।

निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति बढेको सन्दर्भमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि आवश्यक कानुनी आधार तयार गर्नुपर्ने, आवासीय र शेयर धितो कर्जाको सीमा वृद्धिदेखि चालु पुँजी कर्जाको मार्गदर्शन परिमार्जन गर्नुपर्ने सिफारिस पनि सिबिफिनले गरेको छ।

त्यस्तै, कृषि, लघु, घरेलु, साना तथा मझौला व्यवसायमा कर्जा सहजीकरण, कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थाको पुनरावलोकन, सम्पत्ति शुद्धीकरणसम्बन्धी रणनीतिहरूको कार्यान्वयन, र ‘ऋणीसँग नेपाल राष्ट्र बैंक’ जस्ता जनमैत्री कार्यक्रमको प्रभावकारी कार्यान्वयनले आर्थिक तथा बैंकिङ क्षेत्रमा स्थायित्व ल्याउने सिबिफिनको धारणा छ।

सिबिफिनले नीति कार्यान्वयनमा पारदर्शिता, निजी क्षेत्रसँग समन्वय र यथार्थपरक पहलकदमी जरुरी रहेकोसमेत उल्लेख गर्दै, राष्ट्र बैंकले अघि सारेका सुधारमुखी योजनाले अर्थतन्त्रको पुनरुत्थानमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।