दमकमा रास्वपाको हस्ताक्षर अभियानमा प्रहरी हस्तक्षेप, माइक खोसिएको आरोप

प्रधानमन्त्रीको सवारी सुरक्षालाई कारण देखाउँदै प्रहरीले हस्तक्षेप गरेको रास्वपाको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाले आयोजना गरेको हस्ताक्षर अभियानमा प्रहरीले हस्तक्षेप गरेको आरोप लागेको छ। पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भइरहेको भन्दै दमकमा शनिबारदेखि जारी अभियानमा प्रहरीले आइपुगी माइक खोसेको र हटाउन दबाब दिएको रास्वपा झापाका नेता प्रकाश पाठकले बताएका छन्।

पाठकका अनुसार शान्तिपूर्ण तरिकाले सञ्चालित अभियानलाई प्रहरीले बलपूर्वक रोक्न खोज्नु लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक अधिकारमाथिको उल्लंघन हो। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “रास्वपा दमकले सञ्चालन गरेको हस्ताक्षर अभियानमा हस्तक्षेप गरी लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण रूपमा आफ्ना विरोध, अभियान तथा असन्तुष्टि राख्न पाइने कानुनी व्यवस्थाको उपहास हुने गरी माइक भाँचिदिएको छ। यो घटनाले यिनको नियत र प्रतिशोधपूर्ण व्यवहारलाई थप उदाङ्गो पारिदिएको छ।”

प्रहरीको भनाइअनुसार प्रधानमन्त्रीको सवारीका कारण सुरक्षा संवेदनशीलता उच्च भएकाले अभियान हटाउन भनिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि झापामा छन्। उनले हिजो इलाममा अस्पताल उद्घाटन गरेका थिए भने आइतबार पनि झापामै रहने कार्यक्रम रहेको छ।

रास्वपाले भने आफूहरू कानुनी दायराभित्र रही शान्तिपूर्ण विरोध कार्यक्रम गरिरहेको हुँदा सुरक्षाको बहानामा गरिएको हस्तक्षेप अस्वीकार्य रहेको बताएको छ। पार्टीले उक्त घटनाको विरोध गर्दै सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।