काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन्। बाढीबाट निम्तिएको धनजनको क्षति, उद्धार र राहतबारे उनले स्थानीय प्रशासन, जनप्रतिनिधि तथा स्थानीयवासीसँग छलफल गरेका थिए।
प्रधानमन्त्री ओलीले बाढीबाट बेपत्ता भएका कम्तीमा २० जनाको स्थितिप्रति चिन्ता व्यक्त गर्दै नेपाल–चीन सिमानास्थित रसुवागढी भन्सारको सुक्खा बन्दरगाह र बगाइएका मालवाहक कन्टेनरले निम्त्याएको क्षतिको विवरणबारे पनि जानकारी लिए। बाढीले ड्यामसाइट बगाउँदा १११ मेगावाट क्षमताको रसुवागढी र २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र प्रभावित भएका छन् भने ल्हेन्दे खोलाको मितेरी पुल बगाउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ।
प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी थिए।
Comment