काठमाडौं । च्याउ उत्पादन हुने खास सिजन भनेको, वर्षायाम हो । वर्षायाममा पढिने, सुनिने समाचार हो, ‘विषाक्त च्याउ खाएर मृत्यु ।’ नेपालमा विषालु च्याउ सेवन गर्दा बर्षेनी औसत ३० जनाभन्दा बढीले ज्यान गुमाउने गरेका तथ्यांक छ । जंगली च्याउ खाएर बर्षेनी धेरैले ज्यान गुमाउँछन् ।
जंगली च्याउ नखान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल आग्रह गरेको छ । जंगली च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्यु समेत हुनसक्ने मन्त्रालयले बताएको छ । वर्षा ऋतुको आगमनसँगै जंगली च्याउ उम्रिन थालेका छन् ।
जंगली च्याउ खाँदा बिरामी परेका खबरहरू आउन थालेका छन् । तर, जंगली च्याउ विषालु हुने भएकाले खान नहुने मन्त्रालयले प्रष्ट पारेको छ । पकाउँदा पनि जंगली च्याउमा हुने विष कम नहुने भएकाले कहिल्यै नखान मन्त्रालयले आग्रह छ ।
च्याउ स्वास्थ्यका लागि फाइदाजनक छ । तर, विषालु च्याउ खानाले मानिसको ज्यान समेत जानसक्छ । नबुझी, नसोधी, नजानी जंगली च्याउ नखान विज्ञको सुझाव छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का अनुसार नेपालमा करिब ३०० प्रजातिका च्याउ भेटिएका छन् । तीमध्ये १४७ प्रजातिका च्याउ खान हुनेछन् । १०० प्रजातिका च्याउ विषालु छन् । ७५ प्रजातिका औषधि उपयोगी च्याउ छन् । अरू प्रयोगका लागि पनि केही प्रजातिका च्याउ छन् ।
नेपालमा अहिले विदेशबाट बीउहरू ल्याएर खेती गरिएका च्याउहरू भने ढुक्कसँग खान हुन्छ । त्यस्ता च्याउले असर नगर्ने बताइएको छ । तर, जंगलबाट ल्याइने च्याउ भने नबुझी, नसोधी, नजानी नखान नास्टको सुझाव छ ।
गाउँघरतिर चाँदीको चम्चाले चलाउँदा विषालु च्याउ कालो हुन्छ भन्ने भ्रम छ । तर, कुनै पनि च्याउ चाँदीको चम्चाले चलाउँदैमा कालो नहुने नास्टले प्रष्ट पारेको छ । यसरी खान हुने र नहुने च्याउ नछुट्टिने नास्टले बताएको छ ।
यस्तै, टिमुर हालेर पकाउँदा विषालु च्याउको विषादी नष्ट हुन्छ भन्ने भ्रम छ । तर, यसरी पकाउँदा विषादी नष्ट हुने नभई टर्रो मात्र हुने नाष्टले प्रष्ट पारेको छ ।
दूध आउने च्याउ कुनै खान हुने र कुनै खान नहुने भन्ने छ । तर, नचिनी दूध आउने च्याउ खान नहुने स्वास्थ्य मन्त्रालयले बताएको छ ।
गोबरमा उम्रिने सबै च्याउ पनि खान हुँदैन । गोबरमा उम्रिने च्याउ पनि धेरै विषालु हुनसक्छन् ।
रुखमा उम्रिने च्याउहरू विषालु समेत भेटिएको मन्त्रालयले जानकारी दिएको छ । “किरा–फट्यांग्राले खाएका च्याउहरू खान हुन्छ भन्छन् । तर, होइन । किरा–फट्यांग्राले खाएका च्याउहरू पनि खान हुँदैन । त्यो खानेबित्तिकै मानिस मर्न सक्छन्,” मन्त्रालयले भनेको छ ।
चिप्लेकिराले खाएका च्याउहरू पनि खान हुँदैन । चम्किलो रङ भएका च्याउहरू खाने हुने र नहुने दुवै किसिमका हुने मन्त्रालयले बताएको छ ।
कत्ला भएका च्याउ खान हुन्छ भन्ने मान्यता भए पनि खान नहुने च्याउ पनि धेरै भएको भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको छ ।
Comment