काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ प्रावधानमा षड्यन्त्र गर्नेले कारबाही भोग्नुपर्ने बताएका छन् । मंगलबार (असार १७) सभामुख देवराज घिमिरेसँग प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यको छलफलपछि उनले षड्यन्त्र गर्नेले राजीनामा दिनुपर्ने बताएका हुन् ।
“महिनौँसँग लगाएर छलफल भएको हो । दुई वर्षसम्म कुलिङ पिरियड हुनुपर्छ भनी निर्णय भएको हो । तर, अचम्म ! कुलिङ पिरियड नै मुख्यसचिव, सचिव, सहसचिवको हकमा लागु नहुने प्रकारले प्रतिवेदन बन्यो, सदनबाट परित भयो,” उनले भने ।
मंगलबार सभामुखसँग छलफल गरेपश्चात एमालेका सांसद पदम गिरीले निजामती विधेयकमा गम्भीर छानबिन समिति गठन हुनुपर्ने माग गरे। उनले गम्भीर षडयन्त्र भएकाले जिम्मेवार व्यक्तिलाई कारबाही गर्नुपर्ने र संलग्नले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।
उनले छानबिन गठन नभएसम्म राज्य व्यवस्था समितिको बैठक बस्ने नदिने उल्लेख गरे। ‘कहाँबाट त्रुटी भएको हो । जोबाट भएको छ निर्मम कारबाही हुनुपर्छ। गम्भीर छानबिन हुनुपर्छ, यसलाई स्वीकार्य हुँदैन। समितिको छलफलका क्रममा कसैले कुलिङ पिरियड राख्नुहुँदैन, ६ महिना वा १ वर्ष वा २ वर्ष प्रस्ताव राखियो होला तर समितिबाट निष्कर्षमा पुगेपछि जे सहमति भएको हो त्यो जस्ताको तस्तै संसदमा पेश हुने र पारित हुनुपर्थ्यो।’ गिरीले थपे, ‘यहाँ गम्भीर षडयन्त्र भएको छ,भोलिका दिनमा छानबिन गरेपछि टुंगो लाग्छ। यो छानबिन नभएसम्म राज्य व्यवस्था समितिको बैठक बस्न सक्दैन। जो-जो जिम्मेवार हुनुहुन्छ नैतिकताका आधारमा ठाउँ छोड्नुपर्छ। कारबाही भोग्नुपर्छ।’
Comment