काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले आजदेखि(असार १५ गते) १० वटा सेवा पूर्णरूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउने भएको छ।
विद्यार्थीका लागि अनलाइन सेवा प्रणालीलाई विस्तार गर्दै परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सक्रिप्ट, प्रोभिजनल तथा मूल प्रमाणपत्र जस्ता महत्त्वपूर्ण कागजात लगायत १० वटा सेवा पूर्णरूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउने भएको हो । सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन यो कदम चालिएको पनिकाले जनाएको छ ।
पनिकाका अनुसार अब विद्यार्थीले आधिकारिक अनलाइन पोर्टल प्रयोग गरी निम्न सेवाहरूका लागि घरबाटै आवेदन दिन सक्नेछन्:
१. नयाँ रजिस्ट्रेसन आवेदन फाराम
२. परीक्षा आवेदन फाराम
३. ट्रान्सक्रिप्ट आवेदन फाराम
४. प्रोभिजनल सर्टिफिकेट
५. मूल प्रमाणपत्र
६. पुनर्योगका लागि आवेदन फाराम
७. शैक्षिक कागजातमा नाम, थर, रजिस्ट्रेसन नम्बर सच्याउने फाराम
८. विभिन्न सिफारिस पत्रहरू
९. प्रमाणपत्रहरूको प्रमाणीकरण
१०. ट्रान्सक्रिप्ट र मार्कसिटको प्रतिलिपि
हाल त्रिविमा देशभरको करिब ८० प्रतिशत विद्यार्थी अध्ययनरत छन्। ती सबैका लागि आवश्यक पर्ने लब्धाङ्कपत्र, ट्रान्सक्रिप्ट, प्रमाणपत्र लगायतका कागजातलाई सुरक्षित राख्ने, अभिलेख राख्ने र परीक्षा प्रणालीमा गोपनीयता कायम राख्न कार्यालय प्रतिबद्ध रहेको जनाइएको छ।
२०७५ सालदेखि नै त्रिविले दीक्षान्त फाराम तथा ट्रान्सक्रिप्टलाई अनलाइनमार्फत उपलब्ध गराउँदै आएको थियो। २०७९ माघ १५ देखि अनलाइन आवेदन फाराम सुरु गरिएको भए पनि प्राविधिक कारण केही समय बन्द भएको यो सेवा पुनः सुचारु हुने जनाएको छ।
Comment