काठमाडौँ । पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा बयान दिन पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बुधबार विशेष अदालतमा उपस्थित भएका छन्।
नेपाल विशेष अदालतको इजलास नम्बर २ मा न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उपस्थित भएर बयान दिएका हुन्। अदालतका अनुसार बयानपछि थुनछेक बहस अघि बढाइने कार्यसूची रहेको छ।
नेपालले यसअघि अदालतमा व्यक्तिगत रूपमा उपस्थित हुन पाउने सुविधा माग गर्दै निवेदन दिएका थिए। उक्त निवेदन स्वीकृत भएपछि उनी स्वयम् अदालतमा हाजिर भएका हुन्।
अख्तियारले गत जेठ २२ गते पतञ्जलि आयुर्वेदसँग सम्बन्धित जग्गा प्रकरणमा अनियमितता भएको भन्दै पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक हानी पुर्याएको आरोप लगाउँदै बिगो, जरिवाना र कैद सजाय माग गर्दै अभियोगपत्र पेस गरेको हो।
आयोगका अनुसार नेपाल प्रधानमन्त्री रहेका बेला पतञ्जलिलाई गैरकानुनी ढंगले जग्गा बिक्रीको अनुमति दिएको ठहर गर्दै मुद्दा दायर गरिएको हो।
नेपाल पक्षका कानुन व्यवसायीहरूले बयान प्रक्रिया सकिएपछि उनलाई साधारण तारेखमा छोड्नुपर्ने माग गर्दै थुनछेक बहसमा प्रस्तुत हुने तयारी गरेका छन्। यता सरकारी वकिल पक्ष भने पूर्वप्रधानमन्त्रीलाई थुनामा राख्नुपर्ने पक्षमा बहस गर्ने तयारीमा जुटेको छ।
यस प्रकरणले राजनीतिमा समेत चर्चा पाएको छ, विशेषतः उच्च पदस्थ नेताहरूको भूमिकाबारे जनस्तरबाट प्रश्न उठ्दै आएका छन्।
Comment