काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका लागि आवश्यक रासायनिक मल पर्याप्त मौज्दातमा रहेको भन्दै कुनै चिन्ता नलिन आग्रह गरेका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले हालसम्म तीन लाख ४५ हजार मेट्रिक टन मल आयात भइसकेको र आगामी असार मसान्तसम्म थप एक लाख ४२ हजार मेट्रिक टन मल आइपुग्ने जानकारी दिए।
धान रोपाइँका लागि आवश्यक ६० हजार मेट्रिक टन युरिया र ७० हजार मेट्रिक टन डिएपी मौज्दात र आयात हुने मलबाट पुग्ने उनले बताए।
आगामी आवका लागि रु २८ अर्ब ८२ करोडको बजेट विनियोजनसहित छ लाख मेट्रिक टन मल आयातको योजना बनाइएको छ।
दुग्ध किसानलाई करिब ३ अर्ब ९० करोड भुक्तानी बाँकी रहेको र उखु किसानका लागि आगामी आवमा रु २ अर्ब अनुदान विनियोजन गरिएको जानकारी पनि उनले दिए।
मन्त्री अधिकारीले २३ लाखभन्दा बढी किसान परिवार सूचीकरण भइसकेको र सहुलियतपूर्ण कृषि कर्जा, किसान पेन्सन र भूमि बैंकजस्ता कार्यक्रम कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताए।
Comment