रास्वपा सांसद नेपालीको प्रश्न : मानव तस्करहरू सधैँ उन्मुक्त किन हुन्छन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले राज्य संरक्षकहरूकै संलग्नतामा भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको गम्भीर आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नेपालीले नेपालमै बसेर सक्रिय मानव तस्कर र्‍याकेटलाई राज्यको संरक्षण रहेको बताए। उनले सरकारहरू बदलिँदा पनि मानव तस्करहरू उन्मुक्त भइरहनु गम्भीर प्रश्न भएको उल्लेख गरे।

‘सभामुख महोदय, के जनताको मुद्दा उठाउनु अपराध हो?’ सांसद नेपालीले प्रश्न गरे, ‘सरकार फेरिन्छन्, मन्त्री फेरिन्छन् तर मानव तस्करहरू किन सधैँ उन्मुक्त हुन्छन्? भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी केवल कानुनी अपराध होइन, यो मानवताको गम्भीर अपमान हो।’

उनले राज्यकै संलग्नतामा यो अवैध र्‍याकेट सञ्चालन भइरहेको दाबी गर्दै छानबिन समिति गठनको माग गरे।

‘यो र्‍याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा सञ्चालित देखिन्छ,’ उनले भने, ‘यस्तो गम्भीर अपराधमा पनि दुई ठूला दल नेतृत्वको सरकार किन मौन छ? सरकारको अपराधी गिरोहसँग कुनै साँठगाँठ त छैन?’

रास्वपाले गत १३ जेठदेखि भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिन माग गर्दै संसदमा लगातार विरोध जनाउँदै आएको छ। सांसद नेपालीले मानव तस्करीविरुद्ध सरकार गम्भीर नभएको स्पष्ट देखिएको भन्दै जनताको मुद्दालाई बेवास्ता नगरिन आग्रह गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।