काठमाडौँ । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीचको विवाद चुलिएपछि नगर क्षेत्र दिनभर तनावग्रस्त बन्यो। श्रमदानमार्फत गरिएको कामको भुक्तानीलाई लिएर सुरु भएको यो विवाद चर्काचर्की र झडपको स्थितिमा पुगेको हो। ‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ ले श्रमदानबाट १७ लाख ४० हजार रुपैयाँ बराबरको काम गरेपछि नगरपालिकाबाट ७ लाख ४१ हजार रुपैयाँ भुक्तानी माग गरेको थियो। तर, उक्त कामको डोर हाजिर बनाएर उपभोक्ता समिति गठन गरी भुक्तानी मागिएपछि उपमेयर बेघाले रोकिदिएका थिए।
उपमेयर बेघाले नगरको सवारी साधन श्रमदानमा प्रयोग भएको भन्दै चाबीसमेत खोस्न लगाएपछि विवादले अझै उग्र रूप लियो। सोमबार सामान्य विवाद भएकोमा मंगलबार भने हात हालाहालको स्थिति नै बन्यो। इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले स्थिति तनावपूर्ण बनेपछि दुवै पक्षलाई नगर परिसरबाट हटाइएको जानकारी दिए। मंगलबार दिउँसो २ बजेका लागि तय गरिएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठकअघि मेयरको कार्यकक्षमा साम्पाङ र बेघाबीच वादविवाद भएको थियो। यो सूचना बाहिरिएपछि नारायणपथमा श्रमदान गरिरहेका मेयर समर्थकहरू नगरपालिकामा आए।
साम्पाङ पक्षले ‘विकासविरोधी उपमेयर चाहिँदैन’ र ‘राजनीतिक दलहरू चाहिँदैन’ भन्ने नारासमेत लगाए। यसको जवाफमा माओवादी पक्षधरहरूले ‘हर्क साम्पाङ मुर्दावाद’ र ‘गैरकानूनी काममा राज्यको दोहन गर्न पाइँदैन’ भन्दै नाराबाजी गरेपछि स्थिति थप तनावग्रस्त बन्यो र दुई पक्षबीच दिउँसो धकेलाधकेल भयो। नेकपा माओवादी केन्द्र धरान नगर कमिटीका अध्यक्ष उद्धव लिम्बूले मेयर साम्पाङले आफ्ना समर्थक उचालेर उपमेयरमाथि अभद्र व्यवहार गराएको आरोप लगाए। उता, मेयर साम्पाङले भने बाढीपीडित क्षेत्रमा आपतकालीन अवस्था हेरेर जनताको घर जोगाउन तत्काल श्रमदानमार्फत काम गर्नुपरेको जिकिर गरेका छन्। उपमेयर पक्षले श्रमदानमार्फत काम गर्ने नाममा नगरको स्रोत र साधनको दुरुपयोग भएको भन्दै अवरोध गरेको हो भने, मेयर पक्षले यसलाई राजनीतिक पूर्वाग्रहप्रति लक्षित अवरोध भन्दै असन्तोष व्यक्त गरेका छन्।
Comment